आजबाट हात्तीछाप रिलिज, मल्टिप्लेक्समा पायो १६४ शो


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ माघ

चलचित्र ‘हात्तीछाप’ आज शुक्रबारबाट देशभरका हलमा रिलिज भएको छ । यो चलचित्रले उल्लेख्य शोज पाएको छ । यो फिल्मप्रति प्रदर्शकको आशा पनि उच्च देखिएको छ । यो फिल्मले देशभरका मल्टिप्लेक्स हलमा १६४ शोज पाएको यसका निर्माता किरण नेपालीले जानकारी गराएका छन् ।

यो चलचित्रको मँगलबार प्रिमियर गरिएको थियो । फिल्मले प्रिमियरबाट राम्रो तारिफ पाएकोृ छ । यो चलचित्रलाई क्यूएफएक्स चेनले उपत्यकाका हलमा १५ शोज उपलब्ध गराएको छ । यस्तै, वान सिनेमाज् नयाँ बानेश्वरले ६ शोज उपलब्ध गराएको छ भने कालिमाटीमा रहेको वान सिनेमाज्मा ४ शोज उपलब्ध गराएको छ ।

फिल्मलाई वीग मुभिजले ६ शोज दिएको छ । बिहानदेखि बेलुकासम्म फिल्मलाई अधिकांश हलले उच्च शोज दिएका छन् । चाबहिलको एफक्यूब हलले पनि यो फिल्मलाई ६ शोज उपलब्ध गराएको छ ।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणी नेपाल, बिजय बराल, पुष्कर गुरुङ, वुद्धि तामाङ, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ । यस्तै, फिल्ममा कलाकार दीपकराज गिरीको विशेष भूमिका छ ।

३ महिनादेखि नेपाली फिल्मले राम्रो व्यापार नगरिरहेको समयमा यो फिल्मले बक्स अफिसलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।