‘चल्ने हावालाई’मा महिला शसक्तिकरण मुद्ध


ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ माघ

निर्देशक सङ्गीता श्रेष्ठले ‘चल्ने हावालाई’ गीतको भिडियो सार्वजनिक गरेकी छिन् । शनिवार साँझ ललितपुरमा एक कार्यक्रमका बीच उपसभामुख इन्दिरा रानाले यो गीतको भिडियो रिलिज गरिन् । १२ मिनेट लम्बाई रहेको म्युजिक भिडियोमा महिला शसक्तिकरणलाई समेटिएको छ ।

सरु पराजुलीको स्वर तथा शिव चम्लागाईको शब्द र सङ्गीत रहेको गीतमा अभिनेत्रीले पाइलट बन्ने सपना पुरा गर्न गरेको सङ्घर्षलाई देखाईएको छ । उनको पात्र मार्फत समाजले महिलालाई हेर्ने दृष्टिकोण, छोरीलाई अवसरबाट बन्चित गराउने कारण, लैंगिक विभेद जस्ता पक्षलाई देखाईएको छ ।

भिडियो हेरेपछि उपसभामुख रानाले भनिन्, ‘म आफैँ पनि बाल्यकालमा निकै सङ्घर्ष गरेर स्कुल पुगेकी थिएँ । तर, मैले आफ्नो मेहनतले बर्षौदेखि स्कुल गइरहेका भन्दा बढी नम्बर ल्याएर स्कुल टप गरे । त्यसैले हामीले आफ्नो उदेश्य र त्यसलाई प्राप्त गर्ने सङ्घर्ष छोड्नु हुँदैन’, उपसभामुख रानाले भनिन्,‘यहाँ छोरीले गर्न सक्दिनन् की भन्ने सोच्ने नभएका होइनन् तर हामीले उनीहरूलाई काम गरेर देखाउनु पर्छ । यस्ता म्युजिकल फिल्ममार्फत छोरीलाई गरिने विभेदलाई कम गर्न सचेतनाको संदेश प्रवाह हुन्छ ।’

कार्यक्रममा निर्देशक श्रेष्ठले यो गीतको भिडियो मार्फत छोरीहरूलाई छोराझैँ समान रुपमा हेर्न र बुझ्न आग्रह गरिएको बताइन,‘हामी छोरालाई दिने अवसर किन छोरीलाई दिन सक्दैनौँ ? के उनीहरूमा योग्यता छैन र ? कि हाम्रो सोच नै अयोग्य छ ? यस्ता विषयमा सोच्नु पर्ने समय आएको छ’, निर्देशक श्रेष्ठले भनिन्,‘यो गीत सुनेपछि यसको शब्द अनुसार एउटा कथा फुरेपछि म्युजिकल फिल्मको रुपमा तयार गरेका हौँ । छोरीलाई अवसर दिनका लागि हामीले मन र सोच सुन्दर र फराकिलो बनाउनै पर्छ ।’

कार्यक्रममा म्युजिकल फिल्ममा देखिएकी बाल कलाकार तथा निर्देशक श्रेष्ठकी छोरी सम्वृद्धि श्रेष्ठ आफ्नो प्रतिभा उजागर गर्दै उक्त गीत लाइभ गाएकी थिइन् । उक्त गीतमा सञ्चिता लुइँटेल, बेनिसा हमाल, गजित बिष्ट, सोनिका बास्तोला, थमन सिंह पुर्जा, क्रिस केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्देशक श्रेष्ठको कामदेखि आफू हरेक पटक प्रभावित भएको भन्दै अभिनेता गजित विष्टले कार्यक्रममा प्रशंसा गरे । म्युजिकल फिल्म हेरिसकेपछि नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा देखिने नकारात्मक कुराहरूलाई गीतसङ्गीतमार्फत उठाइएको भन्दै सफलताको शुभकामना दिए ।

कार्यक्रममा राष्ट्रिय सेवा दलका तालिम योजना तथा अनुगमन निरीक्षक महेशकुमार थापाले महिलाहरूलाई सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरी सक्षम बनाउनुपर्नेमा जोड दिए ।