मनाईयो शंकर लामिछानेको ४९ औं स्मृति दिवस


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ माघ

विख्यात निबन्धकार शंकर लामिछानेको ४९ औं स्मृति दिवस बुधबार काठमाडौंमा भव्यताका साथ मनाइएको छ । शंकर लामिछाने प्रतिष्ठानद्वारा आयोजित समारोहमा लामिछानेको योगदानको चर्चा गरियो ।

वक्ताहरूले नेपाली निबन्ध फाँटमा लामिछानेको विशिष्ट स्थान रहेको स्मरण गर्दै उनका निबन्धहरूलाई अनुवाद गरेर विश्व साहित्यमा पु¥याउन ढिलो भइसकेको र वर्तमान नेपाली निबन्धमा लामिछानेको जस्तो लेखनको उचाइ नदेखिएकामा चिन्ता व्यक्त गरे ।
प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले शंकर लामिछाने स्मृति ग्रन्थ प्रकाशनको काम अन्तिम चरणमा रहेको उल्लेख गर्दै लामिछानेको चर्चित निबन्ध कृति ‘एब्स्ट्र्याक्ट चिन्तन प्याज’ को अंग्रेजी अनुवादका लागि प्रयास भइरहेको बताए ।

समालोचक प्रमोद प्रधानले लामिछानेका निबन्धमा पाइने दर्शन, विचार, संरचना, शैली र प्रयोग अद्वितीय भएको बताए । प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले लामिछानेको योगदान सम्झिए । नेपाल स्रष्टा समाजका अध्यक्ष निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले शंकर लामिछानेबारे निबन्ध वाचन गरे । पूर्वमन्त्री एवं निबन्धकार दीनानाथ शर्मा र युवराज नयाँघरेले लामिछानेका लेखनका विशेषताहरूबारे चर्चा गरे । समारोहमा कविहरू मुरारि सिगदेल, मन्जिला अनिल र डा. दामोदर पुडासैनीले लामिछानेका निबन्धहरूका अंश वाचन गरे ।

अमेरिकाबाट आएका आख्यानकार सुन्दर जोशीलाई सम्मानसमेत गरिएको समारोहमा प्रतिष्ठानकी संरक्षक श्रीमती रत्ना लामिछाने, सो प्रतिष्ठानका सचिब तथा पुस्तक सम्पादक पारसप्रकाश नेपाल,कथाकार पद्मावती सिंह, निबन्धकार श्रीबाबु कार्की, साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, कवि प्रद्युम्न जोशी, साहित्यकारहरू रामप्रसाद पन्त, डा. शान्तिमाया गिरी, विनोद नेपाल, पत्रकार अश्विनी कोइराला लगायतको उपस्थिति थियो ।

विक्रम संवत् १९८४ चैत ५ मा काठमाडौंमा जन्मेका लामिछानेको २०३२ माघ १० मा निधन भएको थियो । ‘गौंथलीको गुँड,’ ‘विम्ब–प्रतिविम्ब,’ ‘गोधूलि संसार’ उनका अन्य चर्चित कृति हुन् । ‘एब्स्ट्र्याक्ट चिन्तन प्याज’ ले २०२४ सालको मदन पुरस्कार पाएको थियो ।