ब्युटी न्युज नेपाल
काठमाडौं, ११ माघ
चलचित्र जिग्रीको टिजर सार्वजनिक गरिएको छ । यो चलचित्र ४ फागुनबाट रिलिजको घोषणा सहित यसको टिजर सार्वजनिक गरिएको हो । करिब १ मिनेट लामो टिजरमा दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । अभय राज बराल, आकाश मगर, सुशील राज पाण्डे देखी थिएटरकी कलाकार पशुपति राईसम्मलाई टिजरमा देखाईएको छ ।
चलचित्रलाई आकाश मगरले निर्देशन गरेका हुन् । जिग्री कमेडी–क्राइम–एक्सन–ड्रामाको मिश्रण सिनेमा हो । चलचित्रमा मुख्य कलाकारहरू सँगै सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय रहेको छ । चलचित्रको वितरण सुस्केरा आर्ट्सले गर्नेछ ।
चलचित्र जिग्री वर्तमान समयको आम नेपाली दुई युवाहरूको कथा हो । ती युवाहरूले महँगी र अभावमा पिल्सँदै काठमाडौँमा टिकेर बस्नका लागि गरेको सङ्घर्ष चलचित्रको मुख्य विषय बस्तु रहेको छ ।
सुस्केरा आर्ट्सको प्रस्तुति तथा निर्माण र लोकल सिनेमाको निर्माण सहकार्य रहेको चलचित्रका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन् । चलचित्रमा छायाङ्कन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, सङ्गीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स लुज राजभण्डारीको रहेको छ ।





