गीताको ‘मैले पढेका ५१ पुस्तक’ बिमोचित


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ माघ

मिलाप मासिक तथा हिमालय टाईम्स दैनिककी सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ आएको छ । सोमबार काठमाडौंमा मिलाप पब्लिकेशनको आयोजनमा एक समारोहबीच यो पुस्तक बिमोचन गरिएको हो । गीताले आफ्नो जन्मदिनको अवसर पारेर सोमबार यो कृति पाठकमाझ ल्याएकी हुन् ।

वरिष्ठ साहित्यकार कथाकार माया ठकुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, लेखक गीता अधिकारी, महिला सुरक्षा दबाब समूह अध्यक्ष कल्याणी शाह, सञ्चारिका समूह अध्यक्ष विमला तुम्खेवा, हिमालय टाइम्स दैनिकका कार्यकारी निर्देशक उज्ज्वल शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय महासचिव विमला निरौला, प्राडा अर्जुनदेव भट्ट, वशिष्ठ कलाकार लय संग्रौला, वरिष्ठ साहित्यकार विमल भौकाजी, पब्लिकेसनका अध्यक्ष कृष्ण भुसाललगायतले उत्त पुस्तकको लोकार्पण गरे ।

कार्यक्रम गीता अधिकारीले आफूले विभिन्न समयमा पढेका पुस्तकका बारेमा विभिन्न पत्रिकामा प्रकाशित भएका पुस्तक परिचयलाई यसमा समावेश गरेको जानकारी गराईन् । आफ्नो स्वागत मन्तव्य राख्दै उनले,‘पत्रकारितामा संलग्न हुँदै गर्दा मैले पढेर विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका लेखलाई यसमा समावेश गरेकी छु । यसलाई समीक्षाभन्दा पनि पुस्तक परिचयका रूपमा बुझ्नका लागि अनुरोध गर्दछु ।’

चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष एवं गीतकार शान्तिप्रियले गीतासँग आफूले सहकार्य गरेको बताउँदै चलचित्र पत्रकारितमा लामो समयसम्म टिकिरहनु नै महत्वपूर्ण कुरा रहेको जिकिर गरे । यस्तै, वरिष्ठ संगीतकार राजु सिंह, विशिष्ठ कलाकार लय संग्रौला, वरिष्ठ साहित्यकार दामोदार पुडासैनी अन्तर्र्राष्ट्रिय नेपाली साहित्य समाजकी महासचिव विमला निरौला, प्राडा अर्जुनदेव भट्ट, संगीतकार सन्तोष श्रेष्ठले कृतिका लागि अधिकारीलाई बधाई तथा शुभकामना दिँदै उनको सक्रियताको तारिफ गरे ।

सञ्चारिकका समूह अध्यक्ष विमला तुम्खेवाले महिला सञ्चारकर्मीले अघि बढनका लागि हाम्रो समाजमा निकै संघर्ष गर्नुपर्ने तीतो यथार्थ रहेको बताउँदै गीताले पनि संघर्ष गर्दै आफूलाई अघि बढाइरहेको भनाई राखिन् ।

महिला दबाक समूहकी अध्यक्ष कल्याणी शाहले नेपाली महिलाहरू आज पनि विभिन्न समस्याबाट गुज्रिरहेको बताउँदै गीतका कार्यको प्रसँसा गरिन् । वरिष्ठ साहित्यकार खेमनाथ दाहालले अधिकारीले यसमा संलग्न गरेका कृति र उहाँका हरेक समीक्षा ज्ञानबर्धक र मननयोग्य रहेको बताए ।

यस्तै, पुरुषोत्तम दाहालले आफ्नो कविता कृति ‘काला बादलमा उज्याला पाइला’का बारेमा पनि यसमा समावेश भएको बताउँदै यसमा धेरै विधाका कृति रहेको जानकारी गराए । आफ्नो ‘शान्ता’ उपन्यासका बारेमा चर्चा गर्दै उनले गीताले यस कृतिलाई जन्म दिएर आज आमा बनेको धारणा राखे ।

प्रमुख अतिथि ठकुरीले गीतासँग आफ्नो दश वर्षभन्दा लामो सम्बन्ध रहेको बताउँदै आफ्नै वरिपरि रहेका परिवेशलाई आफ्ना प्रस्तुतिमा स्थान दिनुपर्ने विचार व्यक्त गरिन् ।

मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले मिलाप मासिकको चर्चा गर्दै गीताको मैले पढेका ५१ पुस्तक समीक्षाको संग्रह नभएर कृति परिचयसंग्रह रहेको बताए ।

मिलाप पब्लिकेशन प्रा।लि।ले पाठकमाझ ल्याएको १९२ पेजको यस कृतिको मूल्य ४०० रुपैयाँ राखिएको छ ।

तस्बिर : सुरेन्द्र थापा