नाचघरमा सुरु भयो माटोको गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, १ पुष

नेपाली मौलिक संस्कृति पस्केर धेरै भन्दा धेरै पर्यटकलाई खुसी बनाउने उदेश्यका साथ सांस्कृतिक संस्थानले नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ सुरु गरेको छ । २९ मंसिर शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रमुख अतिथिमा नाचघरको मेघा हलमा यो कार्यक्रम सुरु भएको हो । अब यो कार्यक्रम सो हलमा हरेक शुक्रबार अपरान्ह प्रस्तुत गरिने भएको छ ।

‘माटोको गीत’ को प्रथम प्रदर्शन समारोहमा विभिन्न प्रदेशका मौलिक धुन र नेवारी लोक धुनका साथै वालुङ, आर्यतारा, झिंझिया, घाटु, साकेला, सोरठी र हुड्केली नृत्यहरु प्रस्तुत गरिएका थिए । यसैगरी समारोहमा राष्ट्रिय विभूति सीताको कथामा आधारित नाटक ‘सिया चरित’ को पनि मञ्चन गरिएको थियो । कार्यक्रममा नौमती बाजाको धुन, थकाली लोकगीत र राष्ट्रिय गीतको समेत प्रस्तुति रहेका थिए । कार्यक्रममा वाद्यवादन्, नृत्य, गायन तथा अभिनय गरी लगभग १ सय ५० जना कलाकारहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा मन्त्रीहरु, सांसदहरु, संवैधानिक आयोगका प्रमुखहरु, मन्त्रालयका सचिवहरु, पर्यटन बोर्डका पदाधिकारीहरु, विदेशी राजदुतहरु, अन्तर्राष्ट्रिय सङ्घसंस्थाका पदाधिकारीहरु, पर्यटनकर्मीहरु, विभिन्न जातजातिका अगुवाहरु, विभिन्न सांस्कृतिक अन्वेषकहरु, अध्येताहरु, लेखक, प्राध्यापक आदिको उपस्थिति रहेको थियो ।

सांस्कृतिक संस्थानले सांस्कृतिक पर्यटनको विकाशमा टेवा पुर्याउन, विदेशी पर्यटकहरुलाई नेपालको मौलिक संस्कृतिबारे अवगत गराई प्रस्तुतिजन्य लोकसंस्कृतिलाई विश्वमाझ चिनाउन, देशभरका लोकसंस्कृतिकर्मी एवं कलाकारहरुलाई चलायमान बनाउन र लोकसंस्कृतिलाई पुँजी निर्माणतर्फ अग्रसर गराउन यो रैथानी संस्कृति युक्त सांस्कृतिक कार्यक्रम सुरु गरेको संस्थानका महाप्रबन्धक आशोक प्यासी राईले कार्यक्रममा जानकारी गराए । नेपालको मौलिक एवं रैथाने संस्कृति, सभ्यता, रहनसहन तथा जीवनशैली झल्कने सो कार्यक्रमका प्रस्तुतिहरु मनोरन्जनभन्दा बढी प्राज्ञिक, खोजमूलक र यथार्थपरक भएको पनि राईले बताए ।

महाप्रबन्धक राईको अनुसार कार्यक्रमलाई सफल बनाउन विभिन्न जातजाति, समुदाय एवं भेगमा प्रचलित प्रस्तुतिजन्य लोककलालाई प्रामाणिक, आधिकारिक र प्रभावकारी बनाउन सम्बन्धित विषय विज्ञहरुको परामर्श, मूल्याङ्कन तथा सुझाव लिनका लागि ‘प्रस्तुति छनोट समिति’ पनि गठन गरिएको छ ।

नेपाल पर्यटन बोर्ड र संस्कृति तथा पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न निजी तथा सरकारी सङ्घ–संस्थाहरुसँग सहकार्य रहेको सो कार्यक्रममा विविधता ल्याउनका लागि समय, सन्दर्भ र ऋतु अनुसार प्रस्तुतिहरु फरक फरक हुने छन् भने सबै प्रस्तुतिहरुलाई अभिलेखीकरण गरी निकट भविष्यमै डिजिटल लाइब्रेरी तयार गर्ने संस्थानको योजना रहेको छ ।

नेपाली परिकारका साथ रात्रीभोज सहित केही महिना साप्ताहिक रुपमा आयोजना गरिने र आवश्यकता हेरेर शो बढाउने योजना समेत रहेको सो कार्यक्रमका लागि सुरुआती चरणमा नेपाली नागरिकका लागि रू. ५००, भारत र चीनका दर्शकका लागि रू.१,००० र अन्य अन्तर्राष्ट्रिय मुलुकका दर्शकका लागि रू.१,५०० शुल्क तोकिएको छ । यो साप्ताहिक कार्यक्रमबाट नेपालमा सांस्कृतिक पर्यटनको विकाशमा टेवा पुग्ने, देशको संस्कृति र सभ्यता विश्वमाझ पुग्ने, पुँजी निर्माणमा सांस्कृतिक क्षेत्रको योगदान रहने एवं बहुजाति, बहुभाषी र बहुसांस्कृतिक मुलुकका रुपमा नेपाल विश्वमाझ चिनिन अझ सहज हुने विश्वास गरिएको छ । आगामी बैशाखबाट यसलाई दैनिक रुपमा पनि आयोजना गरिने तयारी भईरहेको आयोजक पक्षले जनाएको छ ।