रिमेक भर्सनमा आयो तिम्रो मनमा लुकेको कुरा


ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ मँसिर

एक समय सर्वाधिक लोकप्रिय भएको गीत ‘तिम्रो मनमा लुकेको कुरा’लाई पुन रेकर्ड गरेर रिमेक भर्सनमा श्रोता दर्शकमाझ ल्याईएको छ । काठमाडौंमा एक समारोहबीच यो रिमेक गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीत ३३ बर्ष अघि निर्माण भएको चलचित्र ‘चिनो’ मा समाबेस थियो ।

‘तिम्रो मनमा लुकेको कुरा’ लाई गायक नारायण गोपाल र गायिका आशा भोष्लेले स्वर दिएका थिए । गीतमा रन्जित गजमेरको संगीत र कुसुम गजमेरको शब्द रचना रहेको छ । रिमेक भर्सनमा गायक शंकर श्रेष्ठ र गायिका अनु चौधरीको स्वर रहेको छ ।
सन्तोष राजबाहकले निर्देशन गरेको यो गीतको भिडियोमा भुवन केसी, शर्मिला मल्ल, सुरविर पण्डित, शिशिर भण्डारी, शंकर श्रेष्ठ, अश्विनी शाहीको अभिनय रहेको छ ।

गीत सार्वजनिक कार्यक्रममा गीतका संगीतकार रन्जित गजमेर, अभिनेत्री शर्मिला मल्ल, अभिनेत्री गौरी मल्ल, निर्माता मोहन सराफलगायतले गीतको सृजना र चर्चाबारे आफ्नो भनाई राखे ।

भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन र दिन्सन शाहले सम्पादन गरेका छन् । दुई भागमा निर्माण गरिएको भिडियोमा माया प्रेम र सम्बन्धको कथालाई प्रस्तुत गरिएको छ । गीतको भाव अनुसार भिडियोको कन्सेप्ट सुहाएको छ । भिडियोको टिमले मेहनतका साथ उत्कृस्ट भिडियो निर्मण गरेका छन् ।

भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै संगीतकार रन्जित गजमेरले ३३ बर्ष अघि मुम्बईमा गीत रेकर्डिङ्गको समयको स्मरण गर्दै भने ‘त्यति बेला नारायण गोपाल र आशा भोष्लेले गीतमा न्याय दिएका थिए,दर्शक श्रोताले गीतलाई मन पराइदिनु भएको थियो अझै पनि नयाँ गायक गायिकाको स्वरलाई मन पराउनु हुनेछ भन्ने मलाई लाग्दछ ।’ गीतको भिडियो शिशिर भण्डारीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।