देउसी भैलोको रकम भत्केपाटी माछापोखरी टोल सुधारमा खर्च गरिने


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० कात्तिक

देउसी भैलो खेलेर जम्मा भएको रकम प्राय बनभोजम खर्च गर्ने तथा आपसमा बाँटफाट गर्ने गरिन्छ । तर काठमाडौंको किर्तिपुर स्थित भत्केपाटी माछापोखरी टोल सुधार समितिले यसपटक देउसी भैलो खेलेर सँकलन गरेको रकम टोलको विकाश निर्माण कार्यमा खर्च गर्ने भएको छ ।

तिहारको अबसर पारेर यसपटक भत्केपाटी माछापोखरी टोल सुधार समितिका अध्यक्ष अम्बर खड्काको नेतृत्वमा यही २७ र २८ कात्तिक लक्ष्मी पुजा र गोवर्धन पुजाको दिन भत्केपाटी माछापोखरी टोलमा देउसी भैलो कार्यक्रम सम्पन्न गरियो । टोल सुधार समितिका सल्लाहकार बालकृष्ण माझीको सँयोजन तथा सल्लाहकारद्धय जितबहादुर बिष्ट र गणेश श्रेष्ठको सल्लाह बमोजिम कार्यसमितिबाट सो देउसी भैली खेल्ने कार्यक्रम आयोजना गरिएको हो ।

भत्केपाटी माछापोखरी टोल सुधार समितिका अध्यक्ष अम्बर खड्का सहित उपाध्यक्ष एकराज केसी, सचिब रामप्रसाद पोखरेल, कोषाध्यक्ष उषा झा, कार्यसमिति सदस्यहरु शिब श्रेष्ठ, कृष्णबहादुर दमै, सरस्वती भुसालसहित सो टोलबासीहरुको सहभागितामा देउसी भैलो भव्य रुपमा खेलियो । दुई दिनसम्म खेलिएको सो देउसी भैलो कार्यक्रमबाट दक्षिणा स्वरुप एक लाख ५८ हजार रुपैयाँ सँकलन भएको टोल सुधार समितिका सल्लाहकार बालकृष्ण माझीले जानकारी गराएका छन् । यसपटक तिहारमा देउसी भैलोबाट सँकलन भएको सो रकम भत्केपाटी माछापोखरी टोलमा रहेको बिजुली बत्ती तथा बाटोघाटो मर्मत सम्भार, सरसफाई लगायत टोल सुन्दर बनाउने सामाजिक कार्यमा खर्च गरिने पनि सल्लाहकार माझीले बताएका छन् ।

आफ्नो संस्कृतिको जगेर्ना गर्दै तथा तिहार पर्वलाई भव्यताका साथ मनाउँदै सामाजिक कार्यका लागि खेलिएको देउसी भैलो कार्यक्रम निकै राम्रो भएको र यसबाट हुने सामाजिक कार्य पनि त्यत्तिकै राम्रो हुने टोल सुधार समितिका अध्यक्ष अम्बर खड्काले बताएका छन् ।