नेपालमा टिकटक ब्यान्ड गर्ने सरकारको निर्णय, चाँडै कार्यन्वयन हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ कात्तिक

बिकृति बिसँगतिको सिमा नाघेको ठहर सहित नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले छोटो भिडियो प्रदर्शन गर्ने सञ्जाल टिकटकलाई बन्द गर्ने निर्णय गरेको हो । सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटक बन्द गर्ने निर्णय गरिएको बताएकी छिन् । टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको पनि उनले प्रकाश पारेकी छिन् ।

‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’

मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन । बन्द गर्नको लागि प्राविधिक मार्फत प्रकृया अघि बढाएको पनि उनले बताएकी छिन् ।

थुप्रै देशका टिकटक बन्द भएको बेला नेपालले पनि यसलाई बन्द गर्न लागेको हो । केही दिशमा पुरा प्रतिबन्ध छ भने केही देशमा कर्मचारी तथा अन्यलाई प्रतिबन्ध लगाएको छ । डेनमार्कले गत मार्चमा आफ्ना कर्मचारीलाई काम गर्ने डिभाइसमा टिकटक चलाउन रोक लगाएको थियो । अस्ट्रेलिया, बेल्जियम र क्यानडाले पनि सबै सरकारी मोबाइल डिभाइसमा टिकटक चलाउन रोक लगाएका छन् ।

यस अघि नै भारत, अष्ट्रेलिया, बेल्जियम क्यानडा, नर्वे, न्यूजिल्याण्ड? डेनमार्कलगायतका देशले टिकटक बन्द गरेका छन् । जसमध्य भारतले सन् २०२० मा नै टिकटकसहितका ५८ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।

चीन भारत सीमामा दुई देशबीचको सेनाबीच तनाव बढेपछि भारतले भारतको सम्प्रभुता, भारतको सुरक्षामा खतरा पैदा भएकाले टिकटकसहितका चिनियाँ एप बन्द गरेको थियो । सन् २०२२ मा अफगानिस्तानमा सरकारमा आए लगत्तै तालिवानले इस्लामिक कानुन विपरीत रहेको भन्दै टिकटक बन्द गरेको थियो । यस्तै साउदी अरब सहित अन्य देशमा पनि टिकटक बन्द गरिएको छ ।