पौष २७ मा ‘पर्खी बसें तिमीलाई’


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ कात्तिक

चलचित्र बादल पारिएको हिट गीत ‘कालो चस्मा लाउ है मैया’ यतिबेला रीमेक गरिएको छ । निर्देशक दीपक श्रेष्ठको नयाँ चलचित्र ‘पर्खी बसें तिमीलाई’ को लागि यो गीत रिमेक गरिएको छ । यो रिमेक गीतको भिडियो शुक्रबार सार्वजनिक गर्दै चलचित्र पर्खी बसें तिमीलाईको रिलिज मिति घोषणा गरिएको छ । निर्देशक श्रेष्ठका अनुसार यो चलचित्र अब २७ पौषबाट देशव्यापी प्रदर्शनीमा आउने भएको छ ।

सार्वजनिक रिमेक गीत ‘कालो चस्मा’ मा सुरेन्द्र राणाकै शब्द र शम्भुजीत बासकोटाको संगीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् । पाटन र भक्तपुर दरबार स्क्वाएरमा छायाङ्कन गरिएको गीतको नृत्य निर्देशक निशा रसाइलीले गरेकी छिन् । निर्देशक श्रेष्ठले पुरानो सर्जकलाई सम्मान गर्दै गीतको भावमै रहेर नयाँ पुस्ताका लागि गीत र भिडियो तयार गरिएको बताए ।

आफ्नो नयाँ चलचित्रबारे निर्देशक दीपक श्रेष्ठले भने,‘यो विसुद्ध प्रेम कथानक चलचित्र हो । त्यसैले यसको सुरुआत गीतमार्फत गरेका छौँ’ उनले अगाडि थपे,‘पर्खी बसें झैँ यसमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु । उहाँहरूलाई चलचित्र उद्योगले स्वागत गर्नेमा विश्वस्त छु ।’

‘मैले नयाँ कलाकारसँग पहिला पनि काम गरेको छु । अहिले पनि उहाँहरूको सक्षमता देखेर काम गराएको छु । यसमा अहिलेको पुस्ताको प्रेम कथा देखाईएको छ’, निर्देशक श्रेष्ठले भने ।

यस चलचित्रबाट अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले डेब्यु गर्दैछन् । उनीहरू दुईले अभिनय सिकेर चलचित्रमा डेब्यु गर्न लागेका हुन् । आफूले सुन्दै हुर्किएको गीतमा नृत्य गर्न पाउँदा निकै खुसी लागेको अभिनेत्री रक्षाले बताइन,‘यो गीत मलाई निकै मन पर्छ । अहिले यसमै नृत्य गर्न पाए । पाउने प्रतिक्रियाको पर्खाइमा छु’, रक्षाले भनिन् ।

अभिनेता किरणले पनि लभ स्टोरीमा प्रस्तुत हुन् पाउँदा खुसी व्यत गरे,‘दीपक सर जस्तो लिजेन्ड निर्देशकको एक्सन कटमा काम गर्न पाए । निकै उत्साहित छु । आफू सुहाउँदो भूमिकामा प्रस्तुत भएको छु’, किरणले भने । यसको छायाङ्कन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । चलचित्र काठमाडौँ उपत्यकामा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।

रोमान्स फिल्म्स र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायाङ्कन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्को संगीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।