‘भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापना युद्धस्तरमा’


रासस
कास्की, २० कात्तिक

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘माओवादी केन्द्र’ का महासचिव देवप्रसाद गुरुङले जाजरकोट भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा भइरहेको बताउनुभएको छ ।

पोखरामा सोमबार साँझ प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सरकारले भूकम्प प्रभावितको समयमै प्रभावकारी रुपमा उद्धार सम्पन्न गरेको र अब युद्धस्तरमा राहत वितरण र पुनःस्थापनाको काम सुरु हुने जानकारी दिनुभयो । भूकम्प प्रभावितको राहत र पुनःस्थापनाको काम एकद्वार प्रणालीबाट गरिने बताउनुभयो ।

महासचिव गुरुङले भन्नुभयो, ‘सरकारका अङ्ग, राजनीतिक दल र मित्र राष्ट्रहरुबाट राहतका लागि सहयोग र अनुदान दिने अभियान चलिरहेको छ । राज्यको नेतृत्वमा एकद्वार प्रणालीबाट राहत वितरण सुरु गर्ने र राज्यले योजना बनाएर पुनःस्थापनाको काम अघि बढाउने निर्णय गरेका छौँ ।’

माओवादी केन्द्रले भूकम्पपीडितका लागि पार्टी केन्द्रबाट रु ५० लाख सहयोग गर्ने र प्रत्येक प्रदेश समितिबाट रु एक लाखका दरले सहयोगका लागि आग्रह गरिएको महासचिव गुरुङले जानकारी दिनुभयो । वर्तमान सत्ता गठबन्धन र सरकारका विषयमा विभिन्न आशङ्का उत्पन्न गराउन खोजिए पनि सरकार सुरक्षित रहेको उहाँले बताउनुभयो ।

सरकार र गठबन्धन टुटाउँदै अस्थिरता उत्पन्न गराउने प्रयास असफल भएको महासचिव गुरुङले बताउनुभयो । कोशी प्रदेशमा अस्थिरताको बाटो खोजिए पनि केन्द्रको गठबन्धन कायम राखेर जाने निर्णयले स्थिरता कायम गर्ने गुरुङको भनाइ छ । गुरुङले भन्नुभयो, ‘कोशी प्रदेशमा त्यहाँको प्रदेशसभाको अङ्कगणितलाई हेरेर अस्थिरता उत्पन्न गराउन खोजिएको थियो । पहिले त्यहाँ सरकार गठनमा समस्या भएपनि अहिले पुनः स्थिरताको बाटो सुरु भएको छ । सहमति र समझदारीबाट अघि बढेकाले अहिलेको गठबन्धन र सरकार सुरक्षित छ ।’

‘केन्द्रमा नसके पनि प्रदेशमा राष्ट्रिय सहमतिको सरकार बनाउन खोजेका थियौँ । तर त्यसमा सफलता मिलेन ।’ गुरुङले भन्नुभयो । महासचिव गुरुङले लामो समयदेखि रोकिएको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक आगामी हिउँदे अधिवेशनमा संसद्मार्फत टुङ्गोमा पुग्ने बताउनुभयो । टिआरसीको अन्तरवस्तुमा सबै सहमत भए पनि प्रक्रियामा अल्झाउने प्रयास गरिएको उहाँको भनाइ छ ।

महासचिव गुरुङले पार्टीले सञ्चालन गरिरहेको रुपान्तरण अभियानले पार्टीलाई चलायमान र गतिशील बनाएको बताउनुभयो,’पार्टीले सुरु गरेको जनतासँग माओवादी रुपान्तरण अभियानले पार्टी चलायमान बनेको छ । सङ्गठन विस्तार र सुदृढीकरणका काम भइरहेका छन् । पार्टीभित्र र बाहिर नयाँ सञ्चार भएको छ ।’ उहाँले भन्नुभयो ।