मन्दुमा एकै परिवारको चार जनाको हत्या ः शबलाई सदरमुकाम ल्याईयो


ब्युटी न्युज नेपाल
सुर्खेत १२ कात्तिक

छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी शुक्रबार मृतावस्थामा फेला परेका थिए । उनीहरुको हत्या भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ ।

मृत रुपमा फेला पर्नेमा छायानाथ रारा –६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज , ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनले चारैजनाको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याइएको र आज शव परीक्षण हुने बताएका छन् ।

प्रारम्भिक अनुसन्धानअनुसार मृतक श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दशैंको टीका थाप्न सोही वडा स्थित कोटिल्ला माइती गाउँ गएकी थिइन । यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिइएको छ ।
छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए । १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरूले फेरि श्रीदेवी माइती गए कि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले गत शुक्रबार बिहान १० बजेतिर ढोकाको ताला फाडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका जनाइएको छ ।

अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट उनी चारैजनाको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीले अनुमान लगाएको छ । छायाँनाथ रारा–६ का वडाध्यक्ष खेमबहादुर रावलका अनुसार श्रीदेवीका श्रीमान् दीपक घर आइसकेपछि शव उठाइएको हो । शनिबार बिहान कोहलपुरबाट कुकुरसहितको अनुसन्धान टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ भने प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोली पनि अनुसन्धानमा सक्रिय छ । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ ।