ऐठनलाई मदन पुरस्कार, टेकबीरलाई जगदम्बाश्री सम्मान


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ असोज

यस वर्षको मदन पुरस्कार विवेक ओझाको कृतिऐँठनलाई र जगदम्बाश्री सम्मान अक्षरलाई कलाको आवारणमार्फत् पाठकसँग जोड्ने टेकबीर मुखियालाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीले आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । यी दुबै पुरस्कारको राशी जनही २ लाख रुपैयाँ रहेको छ ।

सोही बैठकले २०७९ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट विवेक ओझाद्वारा लिखित ऐँठन पुस्तकलाई विगतमा नेपाल राष्ट्र एवं नेपाली समाजले बेहोरेको द्वन्द्वको दुःस्वप्‍न र अहिले पनि त्यस दुःस्वप्‍नले हामीलाई ऐँठनका पीडामा डुबाइरहेको यथार्थलाई स्वप्नलेखनको प्रविधि पनि मिसाई उत्कृष्ट औपन्यासिक कलाको उपयोगद्वारा नवीन किसिमले व्यक्त गरेको हुँदा मदन पुरस्कार २०७९ अर्पण गर्ने निर्णय गरेको हो ।

यस प्रयोजनका निम्ति गुठीमा प्राप्त ३१३ पुस्तकहरूमध्येबाट पाँच पुस्तकहरू क्रमशः सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत , प्रगति राईको थाङ्‍ग्रा र सञ्‍जय विष्टको माटाको घर मदन पुरस्कार श्रेष्ठ सूची २०७९ को मनोनयन सुचीमा परेका थिए ।