आर्थिक विश्वासघात प्रकरणमा नायक अनमोल केसी पक्राउ


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ असोज

महानगरी प्रहरी बृत्त नयाँ बानेश्वरबाट प्रहरीले छलफलको लागि पटक पटक बोलाउँदा पनि अनमोल केसी प्रहरीकोमा नगएपछि उनी शुक्रबार साँझ पक्राउ परेका छन् । आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसीलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले पक्राउ गरेको हो । केसीलाई भक्तपुरको साँगाबाट पक्राउ गरिएको सो कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताएका छन् ।

अनमोलले दुई महिना अघि चलचित्र रावायणमा मुख्य भूमिकाको लागि १० लाख रुपैयाँ पेश्की लिएर सम्झौता गरेका थिए । सो फिल्मको छायाँकनको तयारी गर्दै गर्दा यो साता अनमोलले समय दिएनन् र स्कृप्ट कमजोर भयो भन्दै यो फिल्ममा नखेल्ने बताए । त्यसपछि रावायणको टिमले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए ।

अनमोललाई भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि हिरासतमा लिइएको प्रवक्ता रेग्मीले बताए । अब अनमोल कम्तीमा आईतबारसम्म प्रहरी हिरासतमा रहने छन् ।

निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा अनमोलविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी भएको रेग्मीले जानकारी दिए । प्रहरीले खोजी कार्य गर्दा सूचनाको आधारमा साँगाबाट पक्राउ गरिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार, केसीले फिल्म खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएका थिए । तर, फिल्म खेल्न मानेका थिएनन् । फिल्मको सम्पूर्ण तयारी गरेर छायाँकनमा जान लाग्दा एक्कासी अनमोलले फिल्म नखेल्ने भनेपछि आफुहरुलाई कम्तिमा एक करोडा १५ लाख रुपैयाँ विश्वासघात भएको पनि निर्माता निर्देशक सुदर्शन थापाले बताएका छन् ।