‘नाङ्गो गाउँ’को भव्य प्रिमियर


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ भदौ

२९ भदौबाट रिलिज हुने चलचित्र ‘नाङ्गो गाउँ’को प्रिमियर सम्पन्न भएको छ । बुधबार बेलुकी सितापाइलामा रहेको सिके सिनेमाज्मा यो चलचित्रको प्रिमियर भएको हो । कार्यक्रममा फिल्मीकर्मी र मिडियाकर्मीले यसको बिषयवस्तुको प्रसँसा गरे ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको प्रिमियरमा निर्देशक नरेश पौडेल, दीपाश्री निरौला, कलाकार जितु नेपाल, नायक कुन्साङ बोमजम लगायत पुगेका थिए । प्रिमियरमा पुगेका अधिकांशले यसले देखाउन खोजेको बिषयवस्तुलाई आम दर्शकले हेर्नुपर्ने बताए ।

प्रिमियरमा पुगेका गायक राजेश पायल राइले सामाजिक संजालमार्फत यो फिल्मको तारिफ गरेका छन् । उनले, एउटा उत्कृष्ट फिल्म आफूले हेर्न पाएको र आम मानिसले यो फिल्म हेर्नुपर्ने तर्क गरे ।

यस्तै, निर्देशक दीपाश्री निरौला, कलाकार जितु नेपाल, निर्देशक नरेश पौडेल लगायतले पनि फिल्मको बिषयवस्तु शक्तिशाली रहेको बताए । यो फिल्मले निर्वाचनमा भोट दिनु अगाडि सय पटक सोच्न जनतालाई सचेत गराएको उनीहरुको भनाई थियो । यस्तै, नायक कुन्साङले फिल्मलाई शत प्रतिशत रेटिङ दिने भन्दै एउटा राम्रो कथामा फिल्म हेरेको बताए ।

प्रिमियरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, मिरुना मगर र साम्राज्ञी राज्यलक्ष्मी शाह पनि पुगेका थिए । उनीहरुले प्रिमियरमा पाएको प्रतिक्रियाले उत्साहित भएको तर्क गरे ।

हिमाल कडरिया प्रस्तुतकर्ता रहेको यो फिल्ममा जय श्रेष्ठको लगानी छ भने फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् ।

यो फिल्ममा आलोक शुक्लाको डीओपी, बनिष शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, सुशान्त गौतम र दीपक शर्माको संगीत छ । प्रिमियरमा पाएको प्रतिक्रियाले आफूहरु निकै उत्साहित भएको निर्देशक दीपेन्द्र लामाले बताए ।

यसअघि पनि सामाजिक कथामा नै फिल्म निर्देशन गर्दै आएका लामाले यसपटक जनतालाई सचेत गराउने काम फिल्ममार्फत गरेका छन् ।