कामनाले निकाल्यो गाईजात्रे अँक


ब्युटी न्युज नेपाल
काठमाडौंँ, ५ भदौ

कामना न्यूज पब्लिकेसन्स्ले हरेक वर्षजस्तै यस वर्ष पनि गाईजात्रा विशेषांक प्रकाशन गरेको छ । पब्लिकेसन्स्ले नजिकिँदो गाईजात्रा पर्वका अवसरमा आफ्नो लोकप्रिय सिने मासिक कामनामा गाईजात्रा विशेषाङ्क प्रकाशन गरेको हो ।

२०४१ साल मंसिर १५ गतेबाट निरन्तर कामना सिने मासिक प्रकाशनमा ल्याउँदै आएको कामना पब्लिकेसन्स् विभिन्न नयाँ कार्यक्रम र थालनीका साथ स्थापनाको ४०औं वर्ष मनाउने क्रममा छ । यसै क्रममा यस वर्षको कामना गाईजात्रा विशेषांकलाई स्थापना कालदेखिकै विशेष अंकका रूपमा प्रकाशन गरेको पब्लिकेसन्स्ले जनाएको छ । पब्लिकेसन्स्ले स्थापनाको शुरुआती समयदेखि प्रकाशन गर्दै आएको कामना गाईजात्रा विशेष अंकलाई सधैंझैं यस वर्ष पनि निरन्तरता दिँदै ३६५औं पूर्णांकका रूपमा तयार पारेको हो ।

यस वर्षको कामना गाईजात्रा विशेषांक आज मंगलबार प्रकाशनमा आएको छ भने आम पाठकमाझ भोलि बुधबारदेखि उपलब्ध हुने पब्लिेसन्स्ले जनाएको छ । पब्लिकेसन्स्ले वर्षभरिको शोक भुलाउने पर्वका रूपमा प्रचलित गाईजात्रा पर्वको महत्व र परम्परालाई जीवित तुल्याउन हरेक वर्ष कामना गाईजात्रा विशेषांक प्रकाशन गर्दै आएको पब्लिकेसन्स्द्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पब्लिकेसन्स्ले बोल्नसमेत डराउनुपर्ने निरंकुश पञ्चायत कालमा समेत हास्यव्यंग्य लेख तथा व्यंग्य चित्रका माध्यमले तत्कालीन राज्य व्यवस्था तथा विकृति र विसंगतिमाथि तीखो व्यंग्य गरेको थियो ।

कामना गाईजात्रा विशेषांकले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिपछि पनि विद्यमान राजनीतिक, सामाजिक तथा आर्थिक विकृति र विसंगतिमाथि व्यंग्य प्रहार गर्दै आएको छ । साथसाथै हासो र ठट्टाको विशेष अंकका रूपमा पाठकमाझ यो लोकप्रिय बन्दै आएको छ ।

पाठककै चाहना र माग तथा गाईजात्राको अवसरमा गरिने हासो र ठट्टासँगै पर्वको महत्व र परम्परालाई निरन्तरता दिँदै गाईजात्रा संस्कृतिको संरक्षण र संवद्र्धनका लागि गाईजात्रा विशेषांक प्रकाशन गर्दै आएको पब्लिकेसन्स्का प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठ बताउनुहुन्छ । कामना गाईजात्रा विशेषांकमा हरेक वर्ष देशको राजनीतिदेखि सामाजिक अवस्थाको चित्रण गर्ने गरिएको र ४०औं वर्षको यस वर्षको विशेषांक अझ विशेष रहेको उहाँले बताउनु भयो ।

कामनाका सम्पादक विदुर गिरीका अनुसार गाईजात्रा पर्वको परम्परा र संस्कृतिप्रति चिन्तनशील देशकै दर्जनौं ख्यातिप्राप्त व्यंग्य लेखक तथा व्यंग्य चित्रकारहरूले कामना गाईजात्रा विशेषांक प्रकाशनका लागि साथ दिँदै आउनु भएको छ । उहाँहरूकै साथ–सहयोगले कामना गाईजात्रा विशेषांक निरन्तर प्रकाशनमा ल्याउन सम्भव भएको उहाँले बताउनु भयो । यस वर्षको कामना गाईजात्रा विशेषांकमा पनि देशका दर्जनौं व्यंग्य लेखक, हास्यव्यंग्य कलाकार र कवि तथा व्यग्य चित्रकाहरुको सयौं चोटिला सिर्जना पढ्न र हेर्न पाइने पब्लिकसेसन्स्ले जनाएको छ । कुल ७६ पृष्ठको कामना गाईजात्रा विशेषांकको मूल्य १ सय ५० रुपियाँ राखिएको छ ।

देशका विभिन्न क्षेत्रका विशेष गरी नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ भने यस अवसरमा वर्षभरिको शोक र दुःख भुलाउन हास्यव्यंग्यका कार्यक्रम र प्रस्तुति प्रस्तुत गरिने परम्परा छ । यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार दिलाउन प्रेरित गर्न राजा प्रताप मल्लले शुरू गरेको जनविश्वास छ ।