प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीताको निधन


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ असार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा ६९ वर्षको उमेरमा दाहालको आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो । प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्रा डा युवराज शर्माले प्रधानमन्त्री पत्नीको निधन भएको जनाएका छन् ।

दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिईन् । सोही रोगका कारण उनलाई उपचारका लागि पछिल्लो समय नर्भिक अस्पतालमा राखिएको थियो । दिवँगत दाहाल नेकपा माओवादी केन्द्रको सल्लाहकार थिईन् ।

दिवँगत सीता दाहालको पार्थीव शरीरलाई श्रद्धाञ्जलिका लागि नेकपा माओबादीको पार्टी केन्द्रीय कार्यालय पेरिश डाँडामा राखिने भएको छ । आज बिहान ११ः०० देखि १ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दाहालको पार्थीव शरीर राखिने र अपराह्न २ः०० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

यसैबीच सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवन सङ्गिनी सीताको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले आज एक शोक वक्तव्य जारी गर्दै दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।
सभामुख घिमिरेले शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।