नाचघरमा संगीत नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा असारे तथा दाईंगीत चर्चा


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ असार

हुन त न काठमाडौंमा असारे गीत गाईन्छ न यहाँ दाई गीत नै गाईन्छ । रोपाई सुरु भएकाले गाउँतिर असारे गीत गाईन्छ भने धान झारेर दाउनी गर्दा गाउँमा दाईं गीत गाईन्छ । तथापि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको लोक सङ्गीत विभागले शुक्रबार काठमाडौंको नाचघरमा असारे तथा दाइ गीत विषयक गोष्ठी गरेको छ ।

प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईको अध्यक्षतामा आयोजित सो गोष्ठीमा असारे तथा दाई गीत विषयक कार्यपत्र प्रस्तुत गरियो । कार्यक्रममा गायक किरण बाबु पुनले कार्यपत्र प्रस्तुत गरेका थिए भने त्यो कार्यपत्रमाथि पूर्व सांसद बम कुमारी बुढा र डा. ध्रुब प्रसाद भट्टराईले टिप्पणी गरे ।

गायक बम बहादुर कार्कीले कला र संस्कृतिको अध्ययन र अनुसन्धानका लागि साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद नेपालको स्थापना गरेर अघि बढेको सो कार्यक्रममा बताए ।

आयोजक तथा सो प्रतिष्ठानको लोक सङ्गीत विभाग प्रमुख प्राज्ञ टीका पुनले स्वागत मन्तव्य राख्दै असारे र दाई गीतको महत्वबारे प्रकाश पारिन् ।

सो प्रतिष्ठानका उपकुलपति शम्भु राईले मौलिक कला संरक्षणमा राज्यको मात्र मुख ताक्न नहुने बताए । उनले पश्चिमका देउडा गाउने कलाकारले पूर्वको हाकपारे, हिमालका शेर्पाले मैथिली÷ भोजपुरी गीत र यस्तै प्रकारले एक समुदाले अर्काे समुदायको गीत गाउन सक्ने वातावरण बनाउन सके सबै जातजातिका गीत सङ्गीत संरक्षण हुने भनाई राखे ।

कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिने क्रममा शिव नारायण जोशी र समूहले घाँसे गीत, अथार मगरात कलाकार संघका कलाकारहरूले दाइँ गीत, पञ्चरङ्ग भजन समूह भक्तपुरका कलाकारले उपत्यकाका नेवार समुदायमा प्रचलित असारे गीत तथा विपिन घिमिरे र शिला विष्टलद्वारा गड्वाली गीत प्रस्तुत गरे ।