बालेन शाहको आदेश उलँघन गर्दै काठमाडौंका हलले चलाए हिन्दी फिल्म


सरिता भारती/ब्युटी न्युज नेपाल
काठमाडौं, ८ असार

काठमाडौं उपत्यकामा भारतीय फिल्मलाई प्रदर्शन गर्न नदिने भन्ने काठमाडौंका मेयर बालेन शाहको अडानलाई काठमाडौंको हल सञ्चालकहरुले भँग गरेका छन् ।

भारतीय फिल्म आदि पुरुषमा राखिएको सिता भारतकी छोरी हुन भन्ने आशयको सम्बादलाई विश्वव्यापी रुपमा नहटाएसम्म काठमाडौंमा यो चलचित्र प्रदर्शन हुन नदिने भनेर उनले अडान कसेको थिए ।

तर उनको अडान बिपरित शुक्रबारदेखि भारतीय फिल्म काठमाडौंका हलमा प्रदर्शन सुुरु गरिएको छ । भारतीय फिल्मको प्रदर्शनलाई रोक नलगाउन पाटन उच्च अदालतले बिहीवार काठमाडौं महानगरलाई अल्पकालिन अन्तरिम आदेश दिएको हो । सोही आदेशलाई पालना गर्दै हल संचालकले यसअघि प्रदर्शन भैसकेको फिल्म ‘जरा हट्के जरा बचके’लाई शुक्रबारबाट पुन प्रदर्श नगरेका छन् ।

भारतीय चलचित्र ‘आदिपुरुष’लाई नेपालमा प्रदर्शन गर्न पाउने भनेर उच्च अदालत पाटनले बिहिबार अन्तरिम आदेश दिएको हो । सो अदालतले अन्तरिम आदेश दिदै सेन्सर बोर्डले पास गरेका फिल्महरुको रिलिज नरोक्न भन्दै काठमाडौं महानगर पालिकाका मेयर बालेन साहलाई आदेश दिएको थियो ।

हलवाला तथा वितरकहरुको संस्था नेपाल चलचित्र संघका तर्फबाट वितरकहरुले सेन्सर पास भएको फिल्मलाई नेपालमा प्रदर्शन गर्न पाउँदै भन्दै बुधबार उच्च अदालत पाटनमा मुद्धा दायर गरेका थिए । सो मुद्धामाथि बहस गर्ने क्रममा बिहिबार उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको हो ।

यता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उच्च अदालतको आदेश आफ्नो महानगरपालिका भित्र नमान्ने बताएका छन् । उनले आफ्नो क्षेत्राधिकार भित्र भारतीय फिल्म चल्न नदिने अडान कायमै राखेका छन । तर उनको अडान तोड्दै शुक्रबार काठमाडौंका अधिकांश हलले विक्की कौशल र सारा अली खानद्धारा अभिनित हिन्दी फिल्म ‘जरा हट्के जरा बचके’लाई प्रदर्शन गरेका छन् ।

अदालतको आदेशलाई कार्यान्वयन गर्नको लागि सांकेतिकस्वरुप पुरानै फिल्मलाई पुनः रिलिज गरिएको नेपाल चलचित्र संघले जनाएको छ । अदालतको आदेशपछि बिहीवार बेलुका बसेको संघको बैठकले भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिने निर्णय गरेको संघका उपाध्यक्ष गोपालकाजी कायस्थले बताएका छन् ।

चलचित्र संघका प्रदर्शन सभापति प्रज्वल राणाले अदालतको आदेशलाई सम्मान गर्दै भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिने निर्णय संघको बैठकले गरेको बताए । पाटन उच्च अदालतले आगामी मंगलबार चलचित्र संघ र काठमाडौं महानगर दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

काठमाडौंका हलले गत साताकै भारतीय फिल्म प्रदर्श गरे पनि पोखरा र धरानमा शुक्रबार हिन्दी सिनेमा देखाइएन । पोखरा महानगरमा भने यो साताभरी भारतीय फिल्म प्रदर्शन नहुने बताईएको छ । मिडटाउन सिनेमाज् मल्टिप्लेक्सका प्रमुख निकेश द्धाले यसबारे आगामी आइतबार महानगर प्रमुखसँग छलफल गर्न लागिएको बताए । ‘पोखरामा कसरी अघि बढ्ने भन्नेबारेमा आइतबार मेयरसँग छलफल हुँदैछ । त्यसपछि प्रदर्शनबारे टुंगो लाग्ला’ उनले भने ।

यसरी अदालतले हिन्दी फिल्म चलाउन दिने निर्णय गरेपछि बालेन शाहले बिहिबार फेसबुकको स्टाटसमा यस्तो लेखेका छन्,‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको वुझिन्छ । यसका लागि जुनसुकै सजायँ भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दीनेछैन ।’

बालेन साहले आफ्नो निर्देशनलाई वेवास्ता गर्ने काठमाडौंका सिनेमा हललाई चाँडै कारवाही गर्ने पनि बताएका छन् । तर उनले शुक्रबार त्यस्तो कुनै एक्सन लिएका छैनन् । नेपालमा उच्च अदालतले फिल्म आदिपुरुषलाई प्रदर्शन गर्ने पाउने निर्णय गरेको बेला भारतमा यो फिल्म रोक्नलाई अदालतमा बिहिबार मुद्धा परेको छ । यो फिल्मको सम्बादले रामायणको कथा र सम्बादलाई छेडछाड गरेर बिगारेको भन्दै हिन्दू सेनाले आदिपुरुष विरुद्ध दिल्ली उच्च अदालतमा रिट दायर गरेको छ ।

हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले उच्च अदालतमा जनहित याचिका दायर गरेका हुन् । यो फिल्मले हिन्दु धर्मावलम्बीको आस्थामा ठेस पु¥याएको दाबी पनि गुप्ताले गरेको छन् । बिहिबार दायर गरिएको रिटमा यो फिल्मलाई सार्वजनिक रुपमा प्रदर्शन रोक्न हिन्दू सेनाले माग गरेको छ ।

आदिपुरुष फिल्ममा धर्मगुरु तथा रामायणका विभिन्न पात्र र व्यक्तित्वलाई गलत ढंगले प्रस्तुत गरी हिन्दू समुदायको आस्थामा चोट पु¥याएको जिकिर सो रिटमा अध्यक्ष गुप्ताले गरेका छन् । महर्षि वाल्मीकि जस्ता लेखकले लेखेको रामायणमा हिन्दू धर्मका पात्रहरूलाई जसरी भनिएको छ, त्यसैगरी फिल्ममा नदेखाई गलत रुपमा ब्याख्यासमेत गरी नयाँ नयाँ अविश्वनिय दृश्य देखाइएको पनि रिट निवेदनमा उल्लेख गरिएको् छ । यसरी नेपालमा मात्र हैन भारतमा पनि फिल्म आदिपुरुषको प्रदर्शन रोक्न माग गरिएको छ ।