काठमाडौं र पोखरा महानगरपालिकामा आजबाट भारतीय सिनेमा प्रदर्शन रोकियो


ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ असार

काठमाडौँ महानगरपालिका र पोखरा महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएको छ । काठमाडौं र पोखरा महानगर पालिका भित्रका सबैहलहरुलाई पत्र काटेर सम्बन्धित महानगरपालिकाले भारतीय सिनेमा प्रदर्शनमा सोमबारबाट रोक लगाएका हुन् ।

काठमाडौंका मेयर बालेन्द्र साहले आईतबार नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका हुन् । पोखराका मेयर धनराज आचार्यले पनि आईतबार पोखरा महानगरपालिकाका सबै हललाई पत्र काटेर भारतीय सिनेमा प्रदर्शन रोक्न निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार सोमबारबाट काठमाडौं र पोखरा महानगरपालिकामा भारतीय सिनेमा प्रदर्शन रोकिएको छ ।

मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन,‘भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले तीन दिनपहिले हटाउन आह्वान गरेका थियौँ । नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।’

नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले सङ्घ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि प्रहार भई अपूरणीय क्षति हुने देखिएको तथा उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यसप्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेरमात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न सोमबारदेखि निषेध गरिएको प्रमुख साहले बताएका छन् ।

महानगरपालिकाका प्रमुख साहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म प्रदर्शन नगर्न निर्देशन दिएको थियो । यसका लागि नगर प्रहरी खटाईएको महानगरपालिकाले जनाएको छ ।

काठमाडौँ महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन’ भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर साहले फेसबुक स्टाटसमार्फत तीन दिनको समय दिएका छन् । आइतबार बेलुकासम्म फिल्म निर्माताले भारतमा उक्त संवादलाई सच्याएका छैनन् ।

काठमाडौसँगै सोही मुद्धामा पोखरा महानगरपालिकाले पनि महानगरभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको हो । भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन’ भन्ने संवाद नसच्याएसम्म भारतीय चलचित्र प्रदर्शन गर्नमा रोक लगाइएको पोखराका मेयर आचार्यले एक विज्ञप्ती मार्फत आईतबार जनाएका छन् ।

मेयर धनराज आचार्यले महानगरभित्र रहेका सिनेमा हलहरूलाई पत्राचार गर्दै दक्षिण भारतीय चलचित्र ‘आदिपुरूष’मा राखिएको संवाद नसच्याइएसम्म कुनैपनि भारतीय चलचित्र नचलाउन निर्देशन दिएका थिए,‘दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश गरिएको जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको ब्यहोरा जानकारी गराइन्छ,’ मेयर आचार्यले सिनेमा हललाई लेखेको पत्रमा भनिएको छ । सोही पत्र अनुसार पोखरामा पनि सोमबार बिहानबाट सिनेमा हलमा भारतीय सिनेमा लगाउन दिइएको छैन ।