मानव तस्कर आरोपी टोपबहादुर रायमाझीको साँसद पद खोसियो


ब्युटी न्युज नेपाल
काठमाडौं, १ असार

नेकपा एमालेका साँसद तथा पूर्व मन्त्री टोपबहादुर रायमाझीको सांसद पद खोसिएको छ । उनी एमालेका सचिब सेमत थिए । यतिबेला थुनामा रहेका उनको पद शुक्रबारबाट खोसिएको हो ।

यस अघि सांसद पद निलम्बित भएका रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरण पुर्पक्षका लागि थुनामा पठाएसँगै सांसद पद गएको संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा नियमावलीको नियम १४८ को उपनियम ३ ले फौजदारी अभियोगमा पक्राउ परेको सांसद पुर्पक्षका लागि थुनामा गएमा सांसद पद स्वत निलम्बन हुने व्यवस्था छ।

नियमावली भनिएको छ, ‘प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुनेछैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ ।’

जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी अनि सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ । महर्जनलाई ५ लाख र टंककुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

आज (शुक्रबार)को आदेश मुद्दाको अन्तिम फैसला भने होइन । जिल्ला अदालतको यो आदेश चित्त नबुझाउने पक्ष सरकारी वकिल वा आरोपितहरु उच्च अदालत जान पाउँछन् ।

तर माथिल्लो अदालतबाट फरक आदेश नहुँदासम्म पूर्व उपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सचिव टेकनारायण पाण्डे पुर्पक्षका लागि थुनामा रहने छन् ।

योजनाकार मानिएका केशव दुलाल र सानु भण्डारी, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल, सागर राई, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप रायमाझी, खाँणका स्वकीय सचिव नरेन्द्र केसी, गोविन्द चौधरी, रामशरण केसी, पूर्व सभासद् आङटावा शेर्पा, हज कमिटीका अध्यक्ष शम्शेर मिया र हरिभक्त महर्जन पनि थुनामा रहनेछन् ।