ड्रेस टु इम्प्रेस सिजन–८ मा चार डिजाईनरले चुमे अवार्ड


ब्युटी न्युज नेपाल
काठमाडौं २२ जेठ

‘ड्रेस टु इम्प्रेस सिजन–८’मा यसपटक आईआईएफटी स्कुल अफ फेसन एंड इन्टेरियर डिजाइनमा फेसन डिजाइनिङ सम्बन्धी ६ महिने कोर्ष पूरा गरेका १३३ जना डिजाइनरहरु प्रतिस्पर्धामा उत्रिएका थिए । जसमध्ये चार जना डिजाईनरले उत्कृष्ट हुँदै अवार्ड सहित जनही १५ हजार रुपैयाँ र विभिन्न उपहार जितेका छन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार अबेर सम्पन्न सो प्रतिस्पर्धामा आयोजकले प्रतिस्पर्धाहरुलाई चार वटा थिम दिएको थियो । जसमध्ये ‘फाइभ सिजन’ थिममा ममता राई उत्कृष्ट ठहरिइन् भने ‘फाइभ इलिमेन्ट’मा करुणा अर्यालले उत्कृष्ट सिर्जना पस्कँदै विजेता घोषित भएकी छन् । यस्तै आईआईएफटी स्कुल अफ फेसन एंड इन्टेरियर डिजाइन नेपालकी विद्यार्थी अन्जुमान बानो ‘बेष्ट आउट अफ वस्ट’ थिममा उत्कृष्ट डिजाइनर बनेकी छन् ।

यस्तै, अर्को थिम थियो, ‘बोल्ड एक्सेसरिज’, जुन थिममा दमायन्ती अधिकारीले तयार पारेको पहिरन उत्कृष्ट ठहरियो । डिजाइनरका विद्यार्थीबीच हुने ‘ड्रेस टु इम्प्रेस’मा सदाझैँ यस पटकमा समूहगत प्रतिस्र्धा भएको थियो । डिजाइनिङ र मोडलिङको कम्बिनेशन गर्न आईआईएफटीले ‘ड्रेस टु इम्प्रेस’ आयोजना गर्दै आएको हो । जसमा डिजाइनर आफैंले तयार पारेको पहिरनमा प्रस्तुत हुने गरेका छन् ।

बरिष्ठ फोटो पत्रकार  हरि गोपाल प्रधानको सभापतित्वमा सम्पन्न डिजाइनर प्रतियोगिता ‘ड्रेस टु इम्प्रेस सिजन–८’ लागि काठमाडौं युनिभर्सिटीका भ्वाइस चान्सलर डा. भोला थापा प्रमुख अतिथिको रुपमा रहनु भएको थियो भने , कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, निभा श्रेष्ठ, महेश महर्जन, रमिला नेमकुल, रिया महर्जन, निशा श्रेष्ठ, पूर्वमिस नेपाल जेनिशा मोक्तान, उद्यमी कृष्ण राज तिमल्सिना र रुपेश प्रधान निर्णायक रहेका थिए ।

आईआईएफटीका प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाका अनुसार ‘ड्रेस टु इम्प्रेस’ आईआईएफटीको नियमित कार्यक्रम हो । आईआईएफटीका विद्यार्थीको क्षमता अभिबृद्धिका लागि डिजाइनिङ प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’ सुरुवात गरिएको प्रबन्धक निर्देशक शेर्पाले बताए ।

काठमाडौंको बागबजारस्थित बागबजार प्लाजा, कमलादीस्थित हेरिटेज प्लाजा र ललितपुरको कुमारी पाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङसँग इन्टेरियर कोर्ष अध्यापन गराउँदै आएको छ । अहिलेसम्म आईआईआएफटीबाट हजारौंको संख्यामा फेसन डिजाइनर उत्पादन भइसकेको शेर्पाको भनाइ छ ।

उक्त कार्यक्रममा प्रत्यक बिजयेताहरुले रु पन्ध्र हजार नगद तथा बज्र फिटनेस र केज फिटनेस को तर्फा बाट आकर्सक गिफ्ट हम्पर प्राप्त गरेको थियो ।