ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ जेठ

‘दोश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव’ बिहिबारबाट शनिबारसम्म तीन दिन आयोजना हुने भएको छ । बिहिबार काठमाडौंमा प्रिइभेन्ट गरेर सुरु हुने यो फेस्टिबल शनिबार बेलुका अवार्ड प्रदानसँगै सम्पन्न हुने आयोजक तथा महोत्सब अध्यक्ष रघुनाथ सापकोटाले बताएका छन् ।

यो महोत्सबमा यसपटक ‘मास्टर क्लास’को शेसन पनि रहने भएको छ । सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा काभ्रेको भकुण्डेबेसीमा हुने महोत्सवमा तेस्रो दिन शनिवार लेखक एवं निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहालको ‘मास्टर क्लास’ रहने आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । ग्रामीण फिल्मको विषयमा उनीहरूको ‘मास्टर क्लास’ हुने भएको हो ।

सापकोटाका अनुसार ‘आफ्नै गाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ नाराका साथ हुन लागेको महोत्सवमा दुई दर्जन बढी फिल्महरू सहभागी हुँदैछन् । काठमाडौंबाट दुई दर्जन बढी फिल्मकर्मीहरू महोत्सवमा सहभागी हुन भकुण्डेबेसी पुग्नेछन् ।

आयोजकले आगामी बिहीवार मात्रै जुरी घोषणा गर्ने तयारी गरेको छ । ‘झिंगेदाउ’, ‘प्रकाश’, ‘डेसान’,’निरमाया’सँगै तामाङ र गुरुङ फिल्महरू महोत्सवमा प्रदर्शन गरिनेछ ।

साउनमा प्रदर्शनमा आउने तयारीमा रहेको लिम्बु संस्कृतिमा बनेको फिल्म ‘लुङा’को प्रिमियर समेत महोत्सवमा हुने जनाइएको छ । स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु र नेपाली फिल्म हेर्ने बानी बसाल्नु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकको भनाई छ । गत वर्षको वैशाखमा गोरखाको लाप्राकमा महोत्सव आयोजना गरिएको थियो ।