‘मिष्टर नेपाल २०२३’को खोजी सुरु

ब्युटी न्युज नेपाल
काठमाडौंँ, १६ जेठ

यो वर्षको मिष्टर नेपालको खोजी सुरु भएको छ । आयोजक संस्था नेक्स्ट मोडल्स्ले ‘मिष्टर नेपाल २०२३’ को काठमाडौं अडिसन आगामी शनिबार आयोजना हुने जनाएको छ । देशको बिभिन्न स्थानको अडिसनपछि आयोजकले छनौट चरणको अन्तिम अडिसन काठमाडौंमा गर्न लागेको हो ।

नेपालमा आयोजना हुने पुरुषहरु सहभागी प्रतिष्ठित प्रतियोगीताको काठमाडौं अडिसन शनिबार हुने आयोजक नेक्स्ट मोडल्स्का सिइयो रवि धमलाले जानकारी दिए । गत २९ बैशाखदेखि दमकबाट सुरु भएको पहिलो चरणको अडिसन बिराटनगर, जनकपुर, चितवन, बुटवल, पोखरापछि काठमाडौमा हुन लागेको हो । सबै अडिसन सकिएपछि प्रतियोगीताका लागि ३० अन्तिम प्रतियोगी सार्वजनिक गर्ने आयोजकको योजना छ ।

यो पटक मिष्टर नेपालमा १६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुको सहभागीता रहने प्रतियोगीतामा ५ फिट ८ इन्च माथि उचाई भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् ।

आयोजक नेक्स्ट मोडल्सले यो पटक प्रदेश नम्बर १ मा रोनक अग्रवाल, मधेश प्रदेशमा विक्रम आदित्य महासेठ, लुम्बिनी प्रदेश प्रशान्त शाह, गण्डकी प्रदेशमा आशिष पुरी प्रदेश निर्देशक समेत नियुक्त गरेको छ ।

प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’ मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् ।

देशैभरिका अडिसनबाट छानिएका अन्तिम ३० प्रतियोगीले मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी हुनेछन् ।
प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् । प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो । प्रशान्त ताम्राकारको कोरियोग्राफी रहने छ ।