जुगल र तेजवतिको ‘मिखाया भाय्’ बिमोचित


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ जेठ

गायिका तेजवति जोशी बिगत लामो समयदेखि गायनमा छिन् । नेपाली तथा नेपाल भाषाका गीतहरु गाउँदै आएकी उनले अग्रज संगीतकार जुगल डँगोलको एकल संगीत र आफ्नो एकल स्वरमा नेपाल भाषाको गीतिसँग्रह ‘मिखाया भाय्’ श्रोतामाझ ल्याएकी छिन् । यो सँग्रहमा नेपाल भाषाको ४ वटा गीत रहेको छ । यो गीतिसँग्रहको गणतन्त्र दिवसको अबसर पारेर काठमाडौंमा सार्वजनिक गरिएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सो गीतिसँग्रहको लोकार्पण गरेका हुन् । सँग्रहको चार वटै गीत तेजवतिले गाएकी हुन् । कार्यक्रममा गायिका तेजवतिले चार वटै गीत प्रत्यक्ष गाईन् । सँग्रहको यमाजितः …गीतको भिडियो पनि सोही कार्यक्रममा सार्वजनिक गरियो ।

सबै गीतमा जुगल डँगोलको संगीत रहेको छ । यो सबै गीतका संगीतकार जुगल डँगोलले सँग्रहमा रहेका गीतको संगीतबारे प्रकाश पार्दै नेवारी संगीतको परम्परा र शास्त्रीयता सम्बन्धि चर्चा गरे । सँग्रहका गीतलाई लोकसँगै आधुनिक शैलीमा फ्युजन गरेर ल्याएको बताउँदै उनले यी गीत युवा पुस्तामा लोकप्रिय हुने विश्वास व्यक्त गरे ।

यो गीतिसँग्रहलाई ससुसखा संगीत पाठशालले बजारमा ल्याएको हो । यो गीतिसँग्रहका गीतहरु दर्शनबीर शाक्य, सुरजबीर बज्राचार्य, योगेन्द्र राजकर्णिकार र हरिराम महर्जन ‘ठेंचो’ले लेखेका हुन् ।

लोकार्पण समारोहमा बोल्दै लतिलपुरका मेयर चिरिवाबुले भने,‘नेवारी कला संस्कृतिमा नेवारी संगीत अहिले पनि उच्च स्थानमा रहेको छ । यस्तै उत्कृष्ट गीतहरु आज तेजवतिको स्वरमा सुन्न पाईयो र सँग्रह बिमोचन गर्न पनि पाईयो ।’

सो लोकार्पण समारोहमा सँगीतकर्मीद्धय भृगुराम श्रेष्ठ र रत्न बहोसी बज्राचार्यलाई सम्मानित गरियो । कार्यक्रममा भृगुरामले युवापुस्ता माझ अहिले पनि नेवारी लोकसंगीतको लोकप्रियता रहेकोमा खुसी व्यक्त गरे ।