काठमाडौंकी श्रीच्छा प्रधान भईन मिस नेपाल वल्र्ड २०२३


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ जेठ

आफ्ना २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिस नेपाल वल्र्ड २०२३’ को ताज काठमाडौंकी २३ वर्षिया श्रीच्छा प्रधानले चुमेकी छिन् । ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा शनिबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा उत्रिएका २४ प्रतिस्पर्धीमध्यबाट मिस नेपाल वल्र्डको उपाधी प्रधानले प्राप्त गरेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल प्रियंकरानी जोशीले मिस नेपाल वल्र्डको ताज पहिराइन्।

नयाँ मिस नेपाल वल्र्ड प्रधान वातावरण विज्ञानमा स्नातक छिन् । उनी वातावरण अभियान्तको रुपमा यो क्षेत्रमा स्थापित हुन चाहन्छिन् । ग्रान्ड फिनाले समारोहमा श्रीच्छाले अर्को उपाधि फेस अफ द इयर पनि हाँसिल गरिन् । श्रीच्छा यस वर्ष नयाँ मिस नेपाल भएपनि मिस नेपाल प्रियंकरानी जोशीले नै सन् २०२२ को आगामी मिस वल्र्ड प्रतियोगितामा नेपालबाट भागलिने छिन् ।

सोही प्रतिस्पर्धामा मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितिन् । उनले मिस पपुलर च्वाइसको उपाधि पनि हाँसिल गरिन् । अब उनी मिस इन्टरनेशनलमा नेपालबाट प्रस्तुत हुनेछिन् । यसैगरी मिस नेपाल अर्थको उपाधि रायना मजगैयाँले जितकी छन्। रायनाले मिस हेल्दी स्किनको उपाधि पनि प्राप्त गरिन् ।

ग्रान्ड फिनाले समारोहमा अन्य विभिन्न विधामा पनि प्रतिस्पर्धा भएको थियो । जस मध्य ऐश्वर्या श्रेष्ठ मिस फिटनेस क्वीन र मिस इन्टलेक्चुअल, ग्रिष्मा अधिकारी मिस ग्ल्यामर घोषित भए । यस्तै मिस कन्फिडेन्ट प्रज्ञा बज्राचार्य, मिस मल्टिमिडिया सुहानी खड्का क्षत्री, वुमन विद विंग्स उन्नती गुरुङ, मिस फोटोजेनिक कीर्तिका खड्का, मिस ब्यूटी विथ द पर्पस आयुष्मा बराल बन्न सफल भए ।

ग्रान्ड फिनाले समारोहमा नेपाली फेसन, चलचित्र र संगीत क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली रक स्टार अभय सुब्बाको एकल प्रस्तुति सहित अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।