पूर्व गृहमन्त्री बालकृष्ण खाँड नक्कली भुटानी शरणार्थी प्रकारणमा पक्राउ


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ बैशाख

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा सक्रिय गिरोहलाई सहयोग गरेको भन्दै उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । चाबहिल मैजुबहालस्थित उनको निवासमै पुगेर पूर्वगृहमन्त्री खाँणलाई पक्राउ गरेको हो । पक्राउपछि खाँणलाई प्रहरीले पक्राउ गरेर टेकु ल्याएर राखेको छ । उनलाई बुधबार नै पक्राउ पुर्जी दिएको खाँण निकटहरू बताउँछन् । तर, प्रहरीको नेतृत्व गरेर खाँणलाई पक्राउ गर्न गएका अपराध अनुसन्धान कार्यालयका एसएसपी केसीले भने उनको घरमा नै जरुरी पक्राउ पुर्जी दिएर खाँणलाई ल्याइएको बताए । ‘उहाँलाई घरमा नै जरुरी पक्राउ पुर्जी दिएर प्रहरीले टेकु ल्याएको हो, जो जहाँ छ, त्यही जरुरी पक्राउ पुर्जी दिएर ल्याइन्छ, प्रक्रिया यही हो,’ केसीले राजधानीसँग भने ।

यस्तै, पक्राउ परेका पूर्वगृहसचिव पाण्डेले प्रहरीसमक्ष बयानका क्रममा पूर्वगृहमन्त्री खाँणको निर्देशनअनुसार आफूले प्रक्रिया अघि बढाएको बयान दिएका थिए । यसैगरी, पूर्वगृहसचिव पाण्डेले फरम्याट गरेको मोबाइल फोनलाई प्रहरीले फरेन्सिक ल्याबबाट रिकभर गरेपछि प्रहरीले खाँणलाई पक्राउ गरेको प्रहरी स्रोत बताउँछ । ‘धेरै चिज आउँदै छ, एउटै मात्रै कारण पक्राउ गरिएको होइन, अनुसन्धानबाट अरू धेरै कुरा खुल्दै जाला,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने ।

प्रहरीले पक्राउ गरेपछि खाँणलाई उनको निवासबाट काठमाडौं जिल्ला प्रहरी परिसर टेकु पु–याएको थियो । त्यहाँबाट उनलाई स्वास्थ्य परीक्षणका लागि तीनकुनेस्थित कान्तिपुर अस्पताल लगिएको थियो । स्वास्थ्य परीक्षणपछि खाँणलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि थुनामा राखेको छ । काठमाडौं जिल्ला अदालतले प्रहरीलाई खाँणमाथिको अनुसन्धानका लागि तीन दिनको म्याद दिएको छ । खाँणलाई बुधबार राति अबेरसम्म काठमाडौं प्रहरी परिसर टेकुमा राखिएको थियो ।

प्रहरीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रक्रियामा मुछिएका हाई प्रोफाइललाई पक्राउ गर्न नसकेको आरोप लागिरहेका बेला पूर्वगृहमन्त्री खाँणलाई पक्राउ गरेको हो । बुधबार नै पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरी अनुसन्धानका क्रममा उनले बिचौलियासँग आर्थिक कारोबार गरेको खुलेको छ ।

प्रहरीले सो प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई भने पक्राउ गर्न सकेको छैन । सो प्रकरणको योजना बनाउने र पीडितबाट रकम असुली गर्ने गिरोहका नाइके र बिचौलियालाई भने प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म प्रहरीले पूर्वगृहसचिव पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ र सन्दीप रायमाझीलाई पक्राउ गरिसकेको छ । रायमाझी टोपबहादुरका छोरा हुन् ।

प्रहरीले मंगलबार मात्रै नक्कली शरणार्थी प्रकरणमा बिचौलियाको काम गर्ने रामशरण केसी र गोविन्द चौधरीलाई पनि काठमाडौंबाट पक्राउ गरेको थियो । हालसम्म सो प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ । पक्राउ परिसकेका सबैलाई प्रहरीले धमाधम बयान लिइरहेको छ ।

टोपबहादुरलाई भने प्रहरीले गत २० वैशाखदेखि खोजी गरिरहेको छ । उनी प्रहरीको फरार सूचीमा छन् । पक्राउ पुर्जी जारी भएको एक साता बित्दासमेत उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रहरीले रायमाझीलाई पक्राउ गर्न नसकेपछि उनको निवासमा गएर मंगलबार खानतलासी गरेको थियो । उनी काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकै दिन अर्घाखाँची हुँदै बुटवल पुगेका र त्यहाँबाट सम्पर्कविहीन भएका छन् ।

यसैगरी, पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा निरज राईविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेर खोजी गर्दै आइरहेको छ । यस्तै, पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक थापा पनि प्रहरीको खोजीमा फरार सूचीमा छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेकाहरूविरुद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

आरजु राणामाथि पनि आरोप

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको पनि नाम नक्कली शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेकाहरूको बयान र अडियो क्लिपबाट जोडिँदै आएको छ भने पूर्वगृहमन्त्री खाँणकी श्रीमती मञ्जु खाँणको पनि नाम जोडिएको छ ।

मञ्जुले साढे ६ करोड रुपैयाँ बिचौलियाबाट नक्कली शरणार्थी प्रकरणमा लिएको अडिओ केही दिनअघि सार्वजनिक भएको थियो । सो अडियोमा कांग्रेस सभापति देउवा पत्नी राणाले पनि अढाई करोड रुपैयाँ बुझेको भनिएको छ । प्रहरीले सो अडियो पुष्टी हुने थप आधार खोजी गरिरहेको छ ।