ब्युटी न्युज नेपाल
काठमाडौं, २६ बैशाख

नेपाली ‘द अनब्रेकेबल ः अगस्त्य’मा कलाकारको रुपमा अभिनेता प्रमोद अग्रहरी, रविन्द्र झा र बिजय बराल भित्रिएका छन् । सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्मको निर्माण युनिटले मुख्य कलाकारको रुपमा यी तीन कलाकार भित्र्याएको हो । फिल्मका लागि प्रमोद, रविन्द्र र बिजय भित्रिएसँगै कलाकारको लाइनअप बलियो भएको छ । फिल्मका लागि यस अगाडि सौगात मल्ल, नाजिर हुसेन र मलिका महत छनौट भएका छन् ।

कलाकारसँगै निर्माण युनिटले फिल्मको छायांकन अगामी जेठ १२ गतेबाट सुरु हुने बताएको छ । दुई च्याप्टरमा निर्माण हुने फिल्मको कथा निर्देशक स्वयंको हो । उनले दुवै च्याप्टरको कथा तयार पारिसकेका छन् । फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ । फिल्मको छायांकन संजय लामा हुन् । फिल्मको शीर्षक हिन्दु धर्मका सप्तऋषि मध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो ।