ब्युटी न्युज नेपाल
काठमाडौं, २३ बैशाख

काठमाडौं– डेढ दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार चेतन राईले आफ्नो चौथो एकल एल्बम सार्वजनिक गरेका छन् । हालै गायक राईको गृह जिल्ला सल्यानमा आयोजित एक विशेष समारोहमा उनको चौथो एकल एल्बम ‘स्टेज’ विमोचन गरिएको छ । खलंगामा आयोजित समारोहमा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले गायक राईको उक्त एल्बम विमोचन गरेका हुन् ।

यो एल्बममा आधुनिक शैलीका आधा दर्जन गीतहरु समावेश गरिएको गायक राईले बताएका छन् । एल्बममा सल्यानको पर्यटनलाई प्रवद्र्धन गर्ने शैलीको गीत पनि समावेश छ भने एउटा राष्ट्रिय गीत पनि समावेश गरिएको गायक राईले बताएका छन् । समारोहमा उक्त एल्बममा समावेश सल्यानको पर्यटनलाई टेवा पुर्याउने उदेश्यले तयार पारिएको गीत ‘कुपिण्डे तालैमा।।।’ को म्युजिक भिडियो प्रीमियर गरियो । शारदा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष सविन हमालले ‘कुपिण्डे तालैमा’ गीतको म्युजिक भिडियो प्रीमियर गरेका थिए ।

शारदा नगरपालिका तथा त्रिवेणी गाउँपालिकाको सहयोगसमेत रहेको म्युजिक भिडियोमा सल्यानका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुलाई गीत तथा भिडियोमार्फत प्रस्तुत गरिएको छ । उक्त गीतमा गायक राईलाई गायिका रचना रिमालले गायनमा साथ दिएकी छिन् । गीतमा गायक राईकै शब्द तथा गायक राई र सूर्य रुम्वाको संगीत छ भने मनोज थापा मगरले यसलाई संगीत संयोजन गरेका छन् । फराज अर्पणद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा नेहा तामाङ, अभिलाषा सिंह, मनिषा बस्नेत, संयम सिंह, नविन थापा, आभाष भट्टराई, प्रकाश लामिछाने, प्रितिका सिंह आदि कलाकारले अभिनय गरेका छन् ।

आफ्नो एकल एल्बम तथा म्युजिक भिडियो सार्वजनिक भएपछि गायक राईले सल्यान जिल्लालाई चिनाउने उद्धेश्यले स्थानीय तहसंगको सहकार्यमा म्युजिक भिडियो बनाईएको तथा गीत र भिडियोलाई सबैले माया गरिदिन आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि तथा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी, वडाअध्यक्ष सविन हमालले एल्बम तथा गीतको सफलताको शुभकामना दिए । विमोचन समारोहमा लायन्स क्लब सल्यानका अध्यक्ष प्राण राईले गायक चेतन राईलाई कदरपत्रसहित सम्मान गर्दै गीतको सफलताको शुभकामना दिए ।

गायक राईले यसअघि सेभेन, साउण्ड, स्टेप शीर्षकका एकल एल्बम सार्वजनिक गरिसकेका छन् । एक दुई तीन रमाइलो छ यो दिन, तिमी धुन बन म गीत गाउँछु, नाम्चे बजार, मरेर के लानु छ आदि गीतहरु लोकप्रिय छन् ।