रेडियो नेसनको वार्षिकोत्सवमा क्याप्टेन फिजु नाथ नेपाली सम्मानित


ब्युटी न्युज नेपाल
ललितपुर २२ बैशाख

रेडियो नेसन १०३.९ मेगाहर्जले वरिष्ठ क्याप्टेन तथा समाजसेवी फिजु नाथ नेपालीलाई सम्मान गरेको छ । आआफ्नो चौथो वार्षिकोत्सवका अवसरमा रेडियो नेसनले नेपाली वायुसेवा क्षेत्रको उत्थान, सम्बद्र्धन र विकासका साथै अन्य सामाजिक कार्यमा गरेको योगदानको कदर गर्दै ललितपुर सानेपा निवासी नेपालीलाई सम्मान गरेको हो ।

कार्यक्रममा उपस्थित ललितपुर महानगरपालिका वडा नंं २ का वडा अध्यक्ष राजेश कुमार महर्जन, वडा नंं ३ का वडा अध्यक्ष श्रीगोपाल महर्जन, वडा नंं १३ का वडा अध्यक्ष गणेश केसी र नेसन मिडिया ग्रुपका अध्यक्ष अमर अधिकारीले संयुक्तरुपमा दोसल्ला र सम्मानपत्रबाट क्याप्टेन नेपालीलाई सम्मान गरे ।

बुद्ध एयर, सिता एयर र मकालु एयरको स्थापनाका साथै विभिन्न समयमा जोखिमयुक्त क्षेत्रमा पनि सफल उडान गरी २१ हजार घण्टा भन्दा बढी उडानसमय अनुभवी क्याप्टेन फिजु नाथ नेपालीले ललितपुरको महेन्द्र आदर्श विद्याश्रममा एक, आनन्दकुटी विद्यापिठमा दुई वटा शैक्षिक भवन निर्माण, अष्टसिद्धि विनायक टोल विकास संस्थाको क्रियापुत्री भवन निर्माण र बालकुमारी मन्दिरको पुनर्निर्माण लगायत अन्य दर्जनौं सामाजिक कार्यमा पनि सहयोग गरेका छन् ।

रेडियो नेसनका प्रबन्ध निर्देशक पुरुषोत्तम बस्नेतले वार्षिकोत्सवका अवसरमा अब सधैं एक जना समाजसेवीलाई सम्मान गर्ने लक्ष्य लिइएको र सुरुवात क्याप्टेन फिजु नाथ नेपालीबाट गरेको बताए । कार्यक्रममा रेडियो ब्रोडकास्टर्स फोरम नेपालका अध्यक्ष आरके श्रेष्ठ, पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले रेडियोको समस्या तथा समाधानका उपायबारेमा चर्चा गरे । रेडियो नेसनले २०७६ वैशाख २० गते विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नयाँ व्यवस्थापन सहित जावलाखेलमा प्रसारण केन्द्र स्थापना गरी औपचारिक प्रसारण सुरु गरेको थियो ।