२०८० को चलचित्र पत्रकारिता पुरस्कार तथा सम्मान घोषणा


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ बैशाख

चलचित्र पत्रकार संघ नेपालको हिजो बसेको बैठकले २०८० सालको चलचित्र पत्रकारिता सम्मान र पुरस्कार घोषणा गरेको छ । समीर बलामीको अध्यक्षतामा आइतबार बसेको बैठकले सम्मान तथा पुरस्कार निर्णय गरेको हो ।

संघले यो वर्ष (२०८०) को ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८०’ श्रीराम सिग्देल र तुलसी गिरी ‘भावुक’ लाई र ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८०’ दीपज्योती थापा र कुबेर डंगोललाई दिने निर्णय गरेको छ । यो पुरस्कारको राशि जनही ५१ हजार रहेको छ ।

त्यस्तै यो वर्षको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८०’ सृष्टि पोखरेल र ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८०’ रवि अधिकारीलाई दिने निर्णय गरेको छ । प्रोसान पुरस्कारमा एउटा ल्यापटप र मोफसल पुरस्कारमा २५ हजार नगद रहेको छ ।

त्यस्तै संघले यसै वर्षबाट थपेको ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८०’ शान्ति प्रियलाई दिने निर्णय गरेको छ । शान्ति प्रिय संस्थापक महासचिव तथा पूर्व अध्यक्ष पनि हुन् । रजत सम्मानमा ५५ हजार नगद राशि रहेको छ ।

बैठकले संघका पूर्व सदस्यहरुलाई मानार्थ सदस्य र चलचित्र पत्रकारिता गरिरहेका क्रियाशील चलचित्र पत्रकारहरूलाई साधारण सदस्यता वितरण गर्ने निर्णय गरेको छ । यसको लागि आफ्नो वेभसाईटमा सदस्यता फारम राखिएको जानकारी समेत संघमा महासचिव रघुनाथ सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।