क्यान्सर जितेर आएकी गायिका देविकाले पुस्तक ल्याईन्


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ बैशाख

गायिका देविका बन्दना प्रधानले प्राणघातक रोग क्यान्सरलाई जितेकी छिन् । उनलाई कोरोनाको महामारीको बेलामा स्तन क्यान्सर भएको थियो । लामो समय केमो थोरापीपछि आफु क्यान्सर मुक्त भएको भन्दै उनले क्यान्सर हुँदाको पीडा समेटेर लेखेको नयाँ पुस्तक ‘जित्नेको हाँसो’ सार्वजनिक गरेकी छिन् । आफ्नो चर्चित गीत यस्तै रहेछ यहाको चलन, जित्नेको हाँसो….बाट यो पुस्तकको शिर्षक जुराएकी हुन् ।

काठमाडौंमा एक समारोहबीच यो पुस्तकलाई अग्रज हास्यव्यँग्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्यले सँयुक्त रुपमा बिमोचन गरेका छन् । यी दुबै कलाकारले क्यान्सर जितेकोमा देविकालाई बधाई ज्ञापन गर्दै दीर्घ जीवनको कामना समेत गरेका छन् ।

‘रोगहरुको पनि भाले तथा सर रोग क्यान्सरलाई देविका बहिनीले जितेको खबरले म साह्रै खुसी छु । उहाँले क्यान्सर पीडाबारे तयार पारेर ल्याउनु भएको यो पुस्तकले धेरै क्यान्सर पीडितहरुलाई बाँच्न हौसला दिने छ ।’ हरिबँश आचार्यले कार्यक्रममा भने ।

यस्तै मदन कृष्ण श्रेष्ठले पनि क्यान्सर जित्नु देविकाको ठुलो साहर र सफलता भएको बताए । आफुले ६ वर्ष सँघर्ष गरेर ठुलो पैसा सकेर पनि श्रीमतीलाई बचाउन नसकेको भन्दै मदनकृष्ण सो कार्यक्रममा भावुक भए । श्रीमतीलाई गुमाउँदाको पीडा सम्झेर मदनकृष्णका आँखा रसाए । पत्नीलाई क्यान्सर हुँदाको अबस्थाबारे उनले बताउँदा दर्शकले पनि आँसु थाम्न सकेनन् ।

पुस्तकसँगै आफुले क्यान्सर भोग्दाको समस्या र अबस्थालाई समेटेर देविकाले तयार गरेको १५ मिनट लामो बृत्तचित्र पनि सो कार्यक्रममा सार्वजनिक गरियो । बृत्तचित्रले सबैलाई स्तव्ध तुल्यायो ।

गायिका देविका बन्दनाले आफ्नो क्यान्सर समस्या सुनाउँदा अरुलाई पनि पीडा हुन्छ भनेर दुई वर्ष यो रोग लुकाएर एक्लै रुँदै बसेको बताईन् । समयमै उपचार, आत्म विश्वास र परिवारको साथले आफुले क्यान्सर जित्न सकेको पनि उनले बताईन् । देविकाको आत्मकथाको विमोचनमा उनको कथा र पीडा सुनेपछि कार्यक्रमका सहभागीले पनि आँशु थाम्न सकेनन । कार्यक्रममा सबैले आँसु पुच्दाको दृष्य निकै कारुणिक थियो ।

अग्रज अभिनेत्री वसुन्धरा भुसालले देविकालाई नयाँ जीवनको शुभकामना दिँदै उनलाई क्यान्सर भएको खबर सुन्दा आफु छाँगाबाट खसेजस्तो भएको बताईन् । तर परिवार र डक्टर छोरीको साथले उनले क्यान्सर जित्न सकेको पनि बसुन्धराले बताईन् । त्यो पल सम्झँदै बसुन्धराले भनिन्,‘देविका बहिनीलाई स्तन क्यान्सर भएको रहेछ, तर त्यस्तो कोरोनाको बेलामा पनि उनी गीत गाइरहेकी हुन्थिन्। मेरो कारणले कसैलाई पीर नहोस् भनेर आफ्नो पीडा भुलाउन उनले गीत गाउँदै हिडेको देख्दा देविकालाई कोरोना सर्ने हो की भनेर म धेरै डराएँ ।’

साहित्यकार सर्जक प्रकाश सायमीले देविकाको पुस्तकको समीक्षा गर्दै यो जीवनी पुस्तक नभएर आत्मकथा भएको बताए । पुस्तकमा क्यान्सर सुरु हुँदादेखि क्यान्सर पूर्ण निको हुँदासम्मको अबस्था देविकाले समेटेको पनि सायमीले बताए । क्यान्सरको पीडामा देविका छट्पटिएको जानकारी आफुलाई भए पनि देविकाले त्यो रोग लुकाएर हिड्दाको अबस्थाको देख्दा आफुलाई भित्र भित्रै पीडा भएको प्रसँग पनि सायमीले कार्यक्रममा सुनाए ।

सो पुस्तक बिमोचन समारोहमा देविकालाई क्यान्सरको समयमा धेरै गीत गाएको भन्दै ब्रिटिस वल्र्ड बुक रेकर्डका तर्फबाट सम्मान पनि गरियो । उधोग बाणिज्य महासंघकी पूर्व अध्यक्ष्य भवानी राणाले देविकालाई सो सम्मान प्रदान गरिन् । आफ्नो विश्वासले क्यान्सर जितेकोमा देविकालाई अझ धेरै सफलता हाँसिल गर्न राणाले शुभकामना दिईन् ।

सो विमोचन कार्यक्रमलाई सञ्चारकर्मी नरेश भट्टराईले सञ्चालन गरेका थिए ।