तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम बिजयी


ब्युटी न्युज नेपाल
दमौली १२ बैशाख

प्रतिनिधिसभा सदस्य (साँसद) पदमा तनहुँ क्षेत्र नं १ मा भएको उप निर्वाचनमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले बिजयी भएका छन् । वाग्लेले ३४ हजार नौ सय ११ मत प्राप्त गरि बिजय हाँसिल गरेको निर्वाचन आयोगले जनाएको छ । तनहुँ–१ का प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित हुनुभएपछि रिक्त यो स्थानमा आइतबार निर्वाचन भएको थियो ।

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरेका छन भने नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत प्राप्त गरेका छन् ।

यसैगरी राप्रपाका शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो ।

तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित डा वाग्लेलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

तनहुँमा बिजय जुलुस निकाल्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा वाग्लेले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले भूमिका खेल्ने बताएका छन् ।

तनहुँवासीको विश्वास र भरोसालाई डगमगाउन नदिने बताउँदै उनले भने, ‘जनताका अपेक्षा न्याय गर्नेछु ।’ डा वाग्लेले जिल्लाका सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताएका छन् । नीति, क्षमता सही भएको खण्डमा देश विकास सम्भव रहेको जनाउँदै सामूहिक प्रयासलाई इमानदारीपूर्वक निभाउने बताउनुभयो । देश विकास गर्ने हुटहुटीले आफूहरू आएको जनाउँदै उनले सबैको सामूहिक प्रयत्नबाट मात्र देश विकास हुने बताएका छन् ।