६ दर्जन हलबाट बुलाकी


ब्युटी न्युज नेपाल
काठमाडौं, १ बैशाख

नयाँ वर्ष २०८० को अबसर पारेर आज १ वैशाखबाट चलचित्र बुलाकी देशव्यापी रिलिज गरिएको छ । यो चलचित्र मुलुकका ६ दर्जन भन्दा बढी सिनेमा हलमा एकसाथ रिलिज भएको यसको निर्माण पक्षले जनाएको छ ।

यो चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त, बिराज बिष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइको अभिनय छ । प्रकाश कँडेल र सरस्वती खत्रीले यो चलिचत्रबाट डेब्यु गर्दैछन् । फिल्ममा कर्णालीकै सम्बाद राखिएको छ । यो सम्बादलाई दर्शकले रुचाएका छन् ।

यो चलचित्रको छायाँकन कर्णालीको डोल्पा, जुम्ला, अछाम, मुगुलगायतका जिल्लामा गरिएको हो । चलचित्रले आज पहिलो र दोश्रो शोमा निकै राम्रो व्यापार गरेको पनि निर्माण पक्षको कथन छ ।

चलचित्र बुलाकीको बुधबार साँझ काठमाडौंमा प्रिमियर गरियो । यो चलचित्रमा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको यसका निर्देशक लक्ष्मण सुनाले बताए । उनले पनि यही चलचित्रबाट निर्देशनमा डेब्यु गरेका हुन् । यो जारी प्रथाकै कथामा आधारित छ । आफुले यो चलचित्रमा कर्णाली प्रदेशमा अझै विधामान जारी प्रथालाई उठाएको निर्देशक सुनारले बताए ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको सिनेमा शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको सिनेमामा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ ।