ए होर मायाँबाट चम्केकी सनिषाको नायिका बन्ने चाहना


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ चैत

पोखरा स्थित बाघमाराकी सनिषा भट्टराई पछिल्लो समय मोडलिङबाट चर्चामा छिन् । उनले अभिनय गरेको नयाँ गीत ठिटो झापाको…को भिडियो तीन दिन अघिमात्र रिलिज भएको छ । गायक आशिष सचिनको स्वरमा रहेको यो गीतको भिडियो अहिले चर्चामा छ । जसमा गायक आशिषसँगै सनिषाले अभिनय गरेकी छिन् ।

मँगलबार रिलिज भएको यो गीतमा आफु र आशिषको जोडीलाई दर्शकले मन पराएको यी मोडलको भनाई छ,‘भिडियोमा हाम्रो जोडी निकै राम्रो देखिएको प्रतिक्रिया दर्शकले दिनु भएको छ । यो प्रतिक्रियाबाट म निकै उत्साहित छु ।’ मोडल सनिषाले भनिन् ।

गायक हिमाल सागरको हालै चर्चा कमाएको गीत ‘ए होर माया…’बाट सनिषाले मोडलिङ यात्रा सुरु गरेकी हुन् । उनलाई यो गीतको लागि भिडियो निर्माण टिमले इन्टाग्राममा फोटो हेरेर चयन गरेको थियो । त्यो भन्दा अघि सन सिल्क बिज्ञापनमा उनले काम गरेकी थिईन् ।
जब मोडल बिमल अधिकारीसँग उनले ए होर मायामा अभिनय गरिन् । भावना म्युजिक प्रालिले निर्माण गरेको पहिलो भिडियोबाटै उनी सफल भईन् ।

हिमाल सागर र अनु चौधरीको रहेको यो गीतसँगै भिडियो पनि सफल भएपछि आफुलाई दिन दिनै नयाँ नयाँ म्युजिक भिडियोबाट मोडलिङको प्रस्ताव आएको उनले दाबी गरेकी छिन् ।

सनिषाले अभिनय गरेको बसन्त विश्वकर्माको संगीत र स्वरमा रहेको अर्को गीत साईली…को भिडियो पनि दर्शकले मन पराए । जसमा उनले बसन्त विश्वकर्माकै जोडी भएर काम गरेकी थिईन् । यो गीतको भिडियोमा पनि दर्शकले आफ्नो काम रुचाएपछि आशिषसँग अहिलेको यो नयाँ भिडियोमा काम गरेको सनिषाले बताईन ।

पढाई र म्युजिक भिडियोको मोडलिङ करिअरलाई सँगै लैजाने योजना यी मोडलको छ । अहिलेसम्म रहरकै रुपमा यो क्षेत्रमा लागेकी सनिषा अब भने पूर्ण तयारीका साथ अघि बढ्ने बताउँछिन् ।

ब्यचरल अफ इन्फरमेशन म्यानेजमेन्ट (बिईएम) गर्दै गरेकी उनी म्युजिक भिडियोमा मात्र सिमित रहने योजनामा छैनन् । चलचित्रमा नायिकाको रुपमा आउने उनको योजना छ । जसका लागि अब अभिनय र अन्य प्रशिक्षण लिएर सिनेमाको तयारी गर्ने यी मोडलले बताएकीछिन् । कला क्षेत्रमा परिवारको पनि पूर्ण साथ भएकाले यसलाई करिअरकै रुपमा अघि बढाउने योजना उनले सुनाईन् ।