पशुपति प्रसाद २ भस्मे डनको छायाँकन १० चैतबाट


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ चैत

पुशपति प्रसाद सफल भएको सात वर्षपछि चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ निर्माण सुरु भएको छ । यो चलचित्रको पशुपति क्षेत्रमा शुक्रबार शुभ–मुहूर्त गरिएको छ । पशुपतिनाथ मन्दिरको आँगनमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै सिनेमाको शुभ–मुहूर्त गरिएको हो ।
यो चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर थिए । अब सिनेमामा ‘पशुपति प्रसाद’मा अभिनेत्री वर्षा सिवाकोटीको पनि प्रवेश भएको छ । तर, निर्देशक दीपेन्द्र के खनालले सिनेमामा वर्षा ‘सरप्राइज’ रहेको बताए । शुभमुहूर्त समारोहमा अभिनेत्री वर्षा सिवाकोटी पनि उपस्थित भएकी थिइन् ।

आगामी चैत १० गतेबाट छायांकन सुरु हुन लागेको सिनेमालाई खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी छन भने छायाकारमा कृष्णबहादुर थापा रहेका छन् । यो सिनेमा दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत तथा टुकी आर्टस्को ब्यानरमा निर्माण हुनेछ । आगामी बडा दशैंको फूलपातीबाट सिनेमा प्रदर्शनमा आउने घोषणा गरिएको छ ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रुपमा विपिन कार्कीले निर्वाह गरेको ‘भष्मे डन’मा केन्द्रित रहेर सिनेमा बन्नेछ । लेखक लामिछानेले नाम मात्रको सिक्वेल मात्र नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बन्ने बताउँछन् । ७ वर्षको अवधिमा भष्मे डनको जीवनमा आएका विभिन्न उतार–चढावलाई सिनेमामा प्रस्तुत गरिने बताइएको छ ।