नेपाल चलचित्र कलाकार संघको सचिवमा रामेश्वर वुर्लाकोटीको उम्मेदवारी


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ फागुन

नेपाल चलचित्र कलाकार सघको नयाँ कार्यसमितिको लागि यही ४ चैतमा चुनाव हुँदैछ । सो निर्वाचनको लागि शनिबार विभिन्न कलाकारले उम्मेदवारी दिएका छन् । यसै क्रममा नेपाल चलचित्र कलाकार संघका हालका केन्द्रिय सदस्य रामेश्वर बुर्लाकोटीले आगामी निर्वाचनको लागि संघको केन्द्रिय सचिव पदमा उम्मेदवारी दिएका छन् ।

संघमा बुर्लाकोटी सबैभन्दा सक्रिय केन्द्रिय सदस्यका रुपमा परिचित छन् । उनले संघमा हालको कार्यसमितिमा केन्द्रिय सदस्य भएर दर्जनौ उत्कृष्ट काम गरेका छन् । उनले कोभिडको महामारीमा कोरोना बिरुद्ध कलाकारलाई खोप कार्यक्रममा उल्लेख्य योगदान पुर्याए । त्यो समयमा घर घर पुगेर कलाकारलाई राहत प्रदान गर्नेमा उनी अग्रणी स्थानमा रहेका थिए ।

यस्तै कलाकार संघको हालको भवन निर्माणमा पनि निर्माण समितिको सदस्य भएर योगदान दिए । रामेश्वरले आफ्नो संयोजकत्वमा कलाकारहरुको रक्तदान कार्यक्रम, पशुपति सरसफाई कार्यक्रम, शिवरात्री स्वयँसेवा अभियानलगायतका थुप्रै कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेका छन् ।

करिब तीन दशकदेखि नेपाली चलचित्रमा कलाकारको रुपमा सक्रिय बुर्लाकोटीले गोर्खाली, सुरक्षा, जनता जिन्दाबाद, देब्यानी, रिया, बुलेट, बिदाई, जनयुद्ध, परिती आफैं हुँदै रैछ, नयाँ नेपाल, स्टुडेन्टलगायत विभिन्न चलचित्रमा विभिन्न भूमिका निर्वाह गरिसकेका छन् । थुप्रै म्युजिक भिडियो र टेली चलचित्रमा समेत अभिनय गरिसकेका उनी विभिन्न राष्ट्रिय सम्मान तथा अवार्डबाट सम्मानित छन् ।

नेपाली चलचित्रका कलाकारहरुको तमाम समस्या रहेकाले ती समस्यालाई संस्थागत तथा व्यक्तिगत रुपमा समाधान गर्नका लागि आफुले सचिवमा उम्मेदवारी दिएको कलाकार रामेश्वरले व्युटी न्युज नेपाललाई बताए । कलाकार संघको सचिवको रुपमा सम्पन्न गर्नु पर्ने आफ्ना तीन दर्जन एजेन्डा रहेको र आगामी तीन वर्षको कार्यकालमा सचिवको रुपमा रहेर ती एजेन्डा सम्पन्न गर्ने योजना उनले सुनाए । आफुले संघमा केन्द्रिय सदस्यको रुपमा राम्रो काम गरेर प्रमाणित गरिसकेकाले अत्याधिक मतले सचिवमा जित्ने विश्वास लिएको रामेश्वरले बताएका छन् ।