नारी दिवसमा लायन्स डिस्ट्रिक ३२५ एलबाट विभिन्न महिलाहरु सम्मानित


सरिता भारती/ब्युटी न्युज नेपाल
काठमाडौं, २४ फागुन

नेपाली समाजमा आफ्नो क्षेत्रबाट उल्लेख्य योगदान पुर्याएका एक दर्जन अग्रणी महिलाहरु ११३ औं अन्तराष्ट्रिय नारी दिवसको अबसरमा काठमाडौंमा बुधबार लायन्सबाट सम्मानित भएका छन् । यो सम्मान सहित विभिन्न कार्यक्रम गरेर लायन्स क्लब इन्टरनेशलन डिस्ट्रिक ३२५ एलले काठमाडौंमा ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाएको छ ।

 यसरी सम्मानित हुने महिलाहरुमा उपसभामुख इन्दिरा राना, जेष्ठ सामाजिक अभियान्ता इन्दिरा सापकोटा, अभिनेत्री मिथिला शर्मा, चिकित्सक प्राध्यापक पलेश्वन जोशी लाखे, सामाजिक अभियान्ता मिरा ज्योती, अग्रज ब्युटिसियन सोनी कारँजित, अग्रज सञ्चारकर्मी रमा सिंह, सांस्कृतिक अभियान्ता हेमा मानन्धर, पर्वतारोही माया गुरुङ र ब्लाईन्ड रक्सकी अभियान्ता सृष्टी केसी रहेका छन् ।

डिस्ट्रिकका गर्भरन मनीश्री रत्नबज्राचार्यको आयोजना तथा डिस्ट्रिक ३२५ एलकी फेमिली एन्ड उमन कोअर्डिनेशर रेश्मा श्रेष्ठको सँयोजकत्व भएको सो कार्यक्रममा सम्मानित महिलाहरुले आफ्नो सफलताको कथा सुनाए । ‘फेमिली एन्ड उमन सेम्पोजियम २०२३’ शिर्षकमा कार्यक्रमको उद्घाटन गर्दै उपसभामुख इन्दिरा रानामगरले महिलाहरुको अधिकार कुना कन्दरा गाउँबाटै खोजिनुपर्ने बताईन् । उनले नारी दिवसमा सबैनारीलाई शुभकामना ब्यक्त गर्दै लायन्सका सदस्यहरुलाई शहर भन्दा पनि गाउँ गाउँमा गएर महिलाहरु अबस्था सुधार्ने काम गर्न सल्लाह दिईन् ।

लायन्स क्लब इन्टरनेशलन डिस्ट्रिक ३२५ एलकी महिला गर्भनर डा. शुशिला मल्लले उप सभामुख रानामगरको भनाईलाई समर्थन गर्दै अझै पनि नेपालमा ग्रामिण क्षेत्रका महिलाहरुको अबस्था नाजुक रहेको छ भनिन् । चामलको भात खानको लागि दशैं नै कुर्नुपर्ने स्थितिमा रहेका कैयौं महिलाहरुको अबस्था सुधार्न राज्यबाट विशेष पहल हुनुपर्ने उनको माग थियो । आफुहरुले ती महिलाहरुका लागि पनि काम गर्दै आएको उनले जिकिर गरिन् ।

कार्यक्रममा बोल्दै डिआईजी किरण रानाले अहिले पनि नेपाली महिलाहरु घरेलु हिँसाबाट मुक्त हुन नसकेको बताईन् । महिलाहरु पहिला घरबाटै सम्मानित हुनुपर्ने कुरामा उनले जोड दिईन् । सबै महिलाहरुले समान अधिकार पाएको खण्डमा नारी दिवस सार्थक हुने भनाई उनले सो कार्यक्रममा राखिन् । महिलाहरुले आफ्नो कर्तब्य र उदेश्यलाई महत्व दिएर सोही कतव्र्यमा अघि बढेको सफलता हाँसिल गर्ने पनि उनले बताईन् ।

अभिनेत्री मिथिला शर्माले आफुले चलचित्रबृत्तमा पुरुषसँगै कुममा कुम जोडेर काम गर्दै आफुले यो सफलता हाँसिल गरेको बताईन् । महिलाहरुले पुरुषबाट सम्मान माग्दै गर्दा उनीहरुको सम्मान पनि आफुहरुले गर्नु पर्ने सुझाब अभिनेत्री शर्माले दिईन्,‘महिला र पुरषको एक आपसमा सहयोग बिना सृष्टी अघि बढ्न सजिलो छैन । त्यसैले एकले अर्कालाई समान व्यबहार गरेर अघि बढ्नु पर्छ ।’ अभिनेत्री शर्माले कार्यक्रममा भनिन् ।

यस्तै बरिष्ट ब्युटिसियन सोनी कारँजितले आफुले नारीहरुलाई आत्मनिर्भर बनाउन दुईदशकदेखि निरन्तर योगदान दिएको बताईन् । यो अबधिमा १० हजार भन्दाबढी महिलाहरुलाई ब्युटिसियन सम्बन्धि प्रशिक्षण दिएर यो पेशामा ल्याई आत्मनिर्भर तुल्याएको पनि उनले जानकारी गराईन् ।

अग्रज सञ्चारकर्मी रमा सिंहले महिला भएर आफ्नो समयमा टेलिभिजनमा काम गर्न निकै कठिन भएको बताईन् । त्यो कठिनाईलाई पार गर्दै आफुले प्राप्त गरेको सफताको कथा पनि उनले कार्यक्रममा सुनाईन् । सञ्चारकर्मी भएर पनि महिला अधिकारका लागि आफुले गरेको प्रयासको पनि उनले कार्यक्रममा चर्चा गरिन् ।

प्रा. डा. पलेश्वन जोशी लाखेले महिला सल्यचिकित्सक भएर पनि आफुले पुरुष बराबर सर्जन क्षेत्रमा काम गरेको अनुभव सुनाईन् । आफुले चिकित्सा प्रध्यापन, सल्यक्रिया सहित परिवारिक संयोजनमा समान सफलता हाँसिल गरेको पनि उनले बताईन् । नारीहरुले आत्मविश्वासले सफल बन्न सक्ने उनको कथन थियो ।

जेष्ठ सामाजिक अभियान्ता इन्दिरा सापकोटाले आफु ८३ वर्ष भएर पनि अझै नारीहरुलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर उनीहरुलाई सिलाई बुनाईलगायतको सिप सिकाउन क्रियासिल रहेको छु भनिन् । नारीले पनि केही गर्न सकिन्छ भनेर आफुले सिलाई बुनाई पेशा अँगालेर जीवनसँगै समाज रुपान्तरणमा सफलता हाँसिल गरेको अनुभव पनि उनले सुनाईन् ।

सांस्कृतिक अभियान्ता हेमा मानन्धरले आफुले लामो समयदेखि मिस नेवाः आयोजना गर्दै नेवारी नेवारी भाषा र संस्कृतिको सँरक्षणमा नयाँ पुस्तालाई अग्रसर बनाएको बताईन् । आफुले यो क्षेत्रमा ल्याएका नेवार समुदायका युवतीहरुले सांस्कृतिक रुपान्तरणमा योगदान पुर्याएको कथा पनि उनले सुनाईन् ।

यस्तै सामाजिक अभियान्ता तथा उधमी मिरा ज्योतीले आफुले गृहणीसँगै सामाजिक अभियान्ता भएर विभिन्न सामाजिक कामहरु गर्दै आएको अनुभव सो कार्यक्रममा सुनाईन्

कार्यक्रममा पर्वतारोही माया गुरुङले पर्वतारोहणका साहसिक कथा सुनाउँदै सो क्षेत्रमा पनि पुरुषकै उचाईमा आफुहरु पुग्दै आएको बताईन् । अर्की बक्ता सृष्टी केसीले आफु दृष्टी बिहिन भएर पनि समाज रुपमान्तरणमा दृष्टी भएका मानिसहरुले जस्तै काम गर्दै आएको अनुभव सुनाईन् ।

कार्यक्रम संयोजक रेश्मा श्रेष्ठले लायन्स क्लब इन्टरनेशलन डिस्ट्रिक ३२५ एलबाट आफुहरुले नारी ससक्तिकरणका लागि निरन्तर काम गर्दै आएको बताईन् । नारीहरुलाई अझ आफ्नो क्षेत्रमा हौसला मिलोस भनेर नारी दिवसको अबसरमा सम्मान गरेको पनि उनले प्रकाश पारिन् ।