छक्का पञ्जा ४ को दर्शन सलाम युट्युव ट्रेनिङ १ मा


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ माघ

आगामी १९ फागुनबाट देशव्यायी रिलिज हुने नेपाली चलचित्र छक्का पञ्जा ४ यतिबेला गीतको कारण हिट छ । सँगीतकार दीपक शर्माले बिगतका तीन वटा सिरिज जस्तै यो सृँखलामा पनि हिट गीत दिएको छन् । दीपक शर्माको संगीत रहेको ‘छक्का पन्जा ४’को ‘दर्शन सलाम…’ गीत सार्वजनिक भएको दोश्रो दिनमै युट्युवको नेपाल ट्रेन्डिङमा पहिलो स्थानमा पुगेको छ । दोश्रो दिनमै एक मिलियन भन्दा बढी भ्युज पाएको यो गीतमा सहिमा श्रेष्ठ र डेभिड शँकरको स्वर रहेको छ । सहिमाको त यो अहिलेसम्मकै उत्कृष्ट गीत बनेको छ । बरिष्ट गीतकार राजेन्द्र थापाले यो गीत निकै राम्रो लेखेका छन् । गीतको भिडियोको कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । भिडियोमा स्वस्तिमा खड्का, दीपाश्री निरौला, दीपकराज गिरी, राज आचार्य, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मालगायतका कलाकारले अभिनय गरेका छन् । यसमा स्वस्तिमा अतिथि भूमिकामा रहेको बताईएको छ ।

यो गीतको भिडियो राजनीतिक पार्टीको चुनाव प्रचारको पृष्ठभूमिमा तयार गरिएको छ । जहाँ दिपकराज गिरी नेताको रुपमा प्रस्तुत भएको कुरा उनको पोष्टरहरुले दर्शाएको छ । चलचित्रको कथा अनुसार एकीकृत निष्पक्ष पार्टीबाट उम्मेदार दीपकराज गिरी (दिग्विजय सिंह) छन् । उनले भोट माग्ने क्रममा यो गीतमा नाचगान गरिएको उल्लेख छ । बिगतको सृँखलामा गाउँमा राजा भएका दिपक यसपटक शहरमा देखिएका छन् । गीतको समापनकोसँगै भिडियोमा प्रस्तुत संवादसहितको दृश्यमा राजा अर्थात दिग्विजयले मतपेटिका कब्जा गरेको दृष्यले पनि यो चलचित्र राजनीतिक पृष्ठभूमिको कथामा आधारित रहेको जनाउँछ । गीतको भिडियो अनुसार बाँकी कलाकारले दीपकलाई साथ दिएका छन्।

यो चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि हेमराजकै हो । बिगतका तीन वटै सृँखलाको निर्देशन गरेकी दीपाश्री यसपटक यो सृँखलामा नायिकाको रुपमा छिन् । उनीसँगै यो चलचित्रमा दीपकराज गिरी, बेनिशा हमाल, मलिना जोशी, निर्मल शर्मा, बुद्धि तामाङ, केदार घिमिरे, बेदना राई, सुष्मा निरौलालगायतका कलाकारहरुको अभिनय छ ।

दीपकराज गिरीको पटकथा सम्बाद रहेको यो चलचित्रलाई नरेन्द्र मैनालीले छायाँकन गरेका हुन् । जसमा दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ । आमा सरस्वति मुभिजको ब्यानरमा यो चलचित्रलाई दीपक, दिपासँगै केदारप्रसाद घिमिरे, निर्मल शर्मा, दिपेन्द्र खनियाँ र केशव न्यौपानेले निर्माण गरेका हुन् ।