नागरिकता काण्डमा रवि लामिछानेको सांसदसँगै मन्त्रीपद गयो


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ माघ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने यी दुई मन्त्रालय सहित साँसद पदबाट समेत पदच्युत भएका छन् । उनको नागरिकताको बारेमा शुक्रबार भएको बहसमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको छ । सांसद पद खारेज भएसँगै उनले यतिबेला उपप्रधानमन्त्री तथा गृहमन्त्री पदबाट पनि राजिनामा दिएका छन् ।

आफुले लिएको अमेरिकी नागरिकता परित्याग गरेपछि उनले नेपाली नागरिकता लिएका थिएनन् । पुरानै नागरितकाबाट उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना गरेर सो पार्टीको सभापति भई गत ४ मंसिरमा सम्पन्न संसदीय निर्वाचनमा चुनाव लडेर चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । निर्वाचनकै क्रममा उनको नेपाली नागरिकता नै नरहेको भन्दै उजुरी परेको थियो ।

सोही उजुरीमाथि संवैधानिक इजलासमा जारी मुद्धामा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्जर खतिवडा र आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले उनको सांसदपद खारेज गरेको छ । अदालतको निर्णयमा लेखिएको छ,‘यस्तो अवस्थाका व्यक्तिलाई नेपालको संविधानको धारा (८७) १ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १२ को प्रयोजनका लागि उम्मेदवारको योग्यता पुगेको भनि मान्न मिलेन’, फैसलामा भनिएको छ ।’

अदालतले लामिछानेलाई उम्मेदवार कायम गर्ने, निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिने लगायतका कामकारबाही संविधानको धारा १३३ को उपधारा (२), (३) तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेश बदर हुने अदालतको फैसला छ ।

लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको सम्बन्धित सिडियोलाई जानकारी नदिई र नयाँ नेपाली नागरिकता समेत नलिई नयाँ पार्टी खोलेका थिए । सोही पार्टीबाट चुनाव उठेर चितवन २ बाट सांसदको रुपमा निर्वाचित भएका थिए ।