ब्युटी न्युज नेपाल
काठमाडौं, ७ माघ

नेपाली संगीत क्षेत्रका विभिन्न श्रष्टाहरु ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार–२०७८’ सम्मानित एवम् पुरस्कृत भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सितल निवासमा एक समारोहबीच शुक्रबार उनीहरुलाई सो सम्मानित तथा पुरस्कार प्रदान गरेकी छिन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारी, नातिकाजी स्मृति समाजका अध्यक्ष तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटा, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उप कुलपति बैरागी काईलाले सो पुरस्कार प्रदान गरेका हुन् । सो सम्मान एवम् पुरस्कार नेपाली सङ्गीतका सिद्धहस्त नातिकाजीको ९८ औँ जन्मजयन्तीका अवसर पारेर हालै घोषणा गरिएको थियो ।

सो क्रममा राष्ट्रपति भण्डारीले ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान–२०७८’ गीतकार तथा नाट्यकर्मी मन बहादुर मुखिया, अग्रज गायिका दीपानारायण झा, बरिष्ट रेकर्डिस्ट दीप तुलाधर, गायक प्रदीपराज पाण्डे, सँगीत संयोजक फणिन्द्र राई, गीतकार बिके राना, संगीतकार तथा गायक कन्हैया सिंह परियार, गीतकार शुभ मुकारुङ र गीतकार अमर बान्तुलाई सम्मानित गरिन् ।

यसैगरी सोही कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार–२०७८’ सङ्गीतका गुरु चन्दन श्रेष्ठलाई प्रदान गरियो । राष्ट्रपति भण्डारीले सोही कार्यक्रममा नातिकाजी पत्रकारिता पुरस्कार २०७८ बाट गीतकार तथा पत्रकार डब्बु क्षत्री र अर्का पत्रकार कुवेर गिरीलाई प्रदान गरिन् । पुरस्कृत सबैलाई ताम्रपत्र सहित जनही ११ हजार १११ रुपैयाँ प्रदान गरियो ।

यस्तै राष्ट्रपति भण्डारीले नातिकाजी राष्ट्रिय संगीत पुरस्कार–२०७८ गीतकार तर्फ एकनारायण भण्डारीलाई, संगीतकारतर्फ काली प्रसाद बासकोटालाई, गायकतर्फ राज सिग्देललाई र गायिकातर्फ माण्डवी त्रिपाठीलाई प्रदान गरिन् । सोही क्रममा उनले नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७८ गीतकार तर्फ देवेन गिरीलाई, संगीतकार तर्फ दीपक शर्मालाई, गायक तर्फ कृष्ण काफ्लेलाई, र गायिका तर्फ अस्मिता अधिकारीलाई प्रदान गरिन् ।

कार्यक्रममा नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा बाद्य पुरस्कार रविन कार्की ढलीलाई, नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार देवी घर्तीलाई र नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार–२०७८ आशिष सचिन गौतमलाई प्रदान गरियो ।

यस्तै नाजिकाजी स्मृति समाज र कोषको लागि आ आफ्नो क्षेत्रबाट उल्लेख्य योगदान दिएको भन्दै प्रोडक्सन म्यानेजर सुवास काफ्ले, छायाँकार तथा फोटो पत्रकार मनोज शाही, म्युजिक नेपाल र काठमाडौं महानगरपालिकालाई विशिष्ट योगदान स्वरुप कदरपत्रबाट सम्मानित गरियो ।
कार्यक्रममा अग्रज गायिका दीपा नारायण झा, गायिकाहरु माण्डबी त्रिपाठी, अस्मिता अधिकारी र गायक राज सिग्देलले नातिकाजीद्धारा संगीतबद्ध विभिन्न गीतहरु प्रस्तुत गरेर समारोहलाई संगीतमय तुल्याए ।

सम्मानित र पुस्कृति सबैलाई बधाई ज्ञापन गर्दै राष्ट्रपति भण्डारीले नेपाली संगीतको श्रीबृद्धिमा नातिकाजीको अतुलनीय योगदान रहेको बताईन् । कालजायी गीत संगीत पस्केर नेपाली संगीतलाई यहाँसम्म ल्याउनमा उनको ठुलो देन रहेको भन्दै अहिलेका पुस्ताले नातिकाजीको मार्गदर्शनलाई आत्मसात गरेर अघिबढ्न उनले सुझाब दिईन् । उनले नेपालको भौगोलिक विविधताको प्रतिनिधित्व स्वरुप बसोबास गर्ने जातिका आफ्नै मौलिक भाषा, संस्कृति, गीत र सङ्गीत रहेको चर्चा गरिन् ।

नातिकाजी स्मृति समाजका अध्यक्ष तथा अग्रज संगीतकार शम्भुजीत बासकोटाले तीन दशक वा सो भन्दा लामो समयदेखि आ आफ्नो क्षेत्रमा योगदान पु¥याएको भन्दै उनीहरुलाई सम्मानित गरिएको जानकारी गराए । उनले अबका दिनमा नातिकाजी सहित उनका पुस्ताका संगीतकर्मीहरुको नाममा सरकारले पुरस्कार स्थापना गर्नु पर्ने माग गरे । नेपाली संगीतमा नातिकाजीको योगदानको चर्चा गर्दै यो सम्मान र पुरस्कारले सम्बन्धित श्रष्टालाई अझ हौसला मिल्ने विश्वास उनले कार्यक्रममा व्यक्त गरे ।