पोखरामा यती एयरलाईन्सको जहाज दुर्घटना, जहाजमा रहेका ७२ जना मध्य २९ जनाको शब निकालियो


ब्युटी न्युज नेपाल
काठमाडौं, १ माघ

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा परको छ । सो जहाज पोखरा महानगरपालिका– १७ को सेती खोँचमा दुर्घटनामा परेको हो । जसमा ६८ जना यात्रु थिए । एएनसी एटीआर जहाजमा ४ जना चालक दलका सदस्य सहित ७२ जना थिए । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौंलाले बताएका छन् ।

क्षतिको विवरण खुलिसकेको छैन । दुर्घटनास्थलमा आगो निभाउने कार्य नेपाली सेना, शस्सत्र प्रहरी बल, प्रहरी र दमकलले गरेका छन् । अहिले शब निकाल्ने कार्य भईरहेको छ । जहाजमा रहेका यात्रीहरु जिवित रहने सम्भावना कम रहेको बताईएको छ ।

यती एयरलाइन्सका प्रवक्ता बर्तौंलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए । अहिलेसम्म दुर्घटनास्थलबाट २९ जनाको शव निकालिएको छ । हालसम्म २९ शवको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए । १४ वटा शव सेती खोंचमा फेला परेको तर निकाल्न गाह्रो भइरहेको र निकाल्ने प्रयास जारी रहेको एसपी केसीले बताए । विमानमा १० जना विदेशी र ६२ जना नेपाली सवार रहेको खुलेको छ । ६२ नेपालीमध्ये ५ जना बालबालिका रहेका छन् ।

पोखरामा दुर्घटनामा परेको यती एयरको विमान आइतबार बिहान १०ः५४ बजेबाट सम्पर्कविहीन भएको थियो । पोखरा विमानस्थल कार्यालयका अनुसार १०ः३३ मा काठमाडौंबाट उडेको जहाज १०ः५३ बजेसम्म सम्पर्कमा भएको र त्यसपछि सम्पर्कबाहिर गएपछि दुर्घटनाको शंका गरिएको थियो । आजको लागि पोखराको सबै उडानहरु रद्ध गरिएको छ ।

दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज बिहान १०ः३३ बजे काठमाडौं विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिए । मौसम सफा भए पनि जहाज अबतरण हुने क्रममा आकाशमै आगोको झिल्का देखिएको त्यहाँका प्रत्यक्षदर्शीहरुले बताएका छन् ।