चलचित्र पत्रकार संघले माघमा कार्यशाला गर्दै


ब्युटी न्युज नेपाल
काठमाडौं २१ पुष

चलचित्र पत्रकार संघ नेपालले आगामी माघमा काठमाडौंका दुई दिने चलचित्र पत्रकारिता कार्यशाला आयोजना गर्ने भएको छ । संघका अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा बिहिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले माघ १३ र १४ गते काठमाडौंमा चलचित्र पत्रकारहरुका लागि कार्यशाला आयोजना गर्ने निर्णय गरेको हो । संघको पछिल्लो कार्याशाला चार वर्ष अघि पोखरामा भएको थियो ।

यस्तै संघले ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकार (संघका सदस्य) लाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । बैठकले प्रस्तावित कल्याणकारी कोष पूर्ण कार्यान्वयनमा नआउँदासम्म कार्यसमितिको निर्णयद्वारा ६० वर्ष उमेर पुगेका वा त्योभन्दा बढी उमेर भएका ज्येष्ठ पत्रकार (संघका सदस्य) लाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता वापत छ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

‘यसले विधागत रुपमा पत्रकारिता गरिरहेकालाई उर्जा मिल्ने विश्वास लिएका छौं। विधागत पत्रकारितामा उहाँले दिनुभएको योगदानको कदर सङ्घले गरेको हो । हामीले कल्याणकारी कोषमार्फत सङ्घका सदस्यहरूको समस्यालाई न्यूनीकरण गर्ने लक्ष्य लिएका छौं’, अध्यक्ष सिटौलाले भने । उहाँले यस किसिमको सुविधा प्राप्त गर्ने सदस्यको वार्षिक नविकरण शुल्क मिनाहा गरिने जानकारी समेत दिनुभयो ।

यसका साथै चलचित्र पत्रकार संघ नेपालको नवौं महाधिवेशन फागुन १७ गते काठमाडौंमा गर्ने निर्णय समेत गरेको छ । अधिवेशन प्रायोजनका लागि संघका सदस्यहरुले माघ १५ गतेसम्म अनामनगरस्थित संघको कार्यालयमा आफैं उपस्थित भई सदस्यता नविकरण गर्नुपर्ने निर्णय समेत गरेको छ ।

यसका साथै संघले २४ जना पत्रकारलाई नयाँ सदस्यता प्रदान गरेको छ । पत्रकारहरु भद्रबहादुर कार्की (नविन), अमृता खनाल, सृजना विश्वकर्मा (सोजना), सरिता भारती, सुदीप पौडेल, लक्ष्मी बलायर, सेञ्जल अधिकारी, संगीता गिरी, सुजन श्रेष्ठ, अर्जुन गुरागाईं, नवराज गिरी, निशा बजगाईं, पवन भट्टराई, प्रकाश भुषाल, राज मल्ल, सुष्मा कार्की, सबी कार्की, सन्तोष खनाल, शालिकराम न्यौपाने, संगीत ओली, रत्नबहादुर चन्द, धिरज गुरुङ, दीपक गिरी तथा दीपेश गौतमलाई संघको सदस्यता प्रदान गरिएको सचिव विशाल राईद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।