१४ पुषमा पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ पुष

‘पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड–२०२२’ यही बिहिबार १४ पुसमा काठमाडौंको सोल्टीमोड स्थित हायात प्लेसमा हुने भएको छ । अवार्डको सबै तयारी पुरा भएका आयोजक एवम् अभिनेता यसराज गराचले जानकारी गराएका छन् ।

चौथो संस्करणको यो अवार्ड नेपाली फेशन र मोडलिङ क्षेत्रको प्रवर्धनको लागि आयोजना हुन लागेको पनि उनले बताए । यो चौथो अवार्डलाई यसपटक भव्य तुल्याउन पाँच तारे होटल नै रोजेको पनि अभिनेता यसराजले जानकारी गराए ।

टच इन्टरटेनमेन्ट एन्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल इन्टरनेशनल र ब्राईट इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने यो अवार्ड समारोहमा अग्रज मोडल तथा कोरियोग्राफरलाई अनर अवार्डबाट पनि सम्मानित गरिने भएको छ ।

यो अवार्डका अर्का आयोजक एवम् मोडल दिक्पाल कार्कीका अनुसार अग्रज कोरियोग्राफर तथा मोडल प्रशान्त ताम्राकार, अभिनेत्री पुजा शर्मा, मोडल तथा अभिनेत्री मलिना जोशी, अग्रज सञ्चारकर्मी नरेश भट्टराई, भिडियो मोडल तथा अभिनेता सलोन बस्नेत, नेपालको पहिलो महिला रेश्लर भगवाती खड्का ‘युनिका’लगायतलाई पनि विभिन्न विधाका अनर अवार्डबाट सम्मानित गरिने भएको छ । यस पटक मोडलिङ तर्फ ४० विधामा र फेशन तर्फ ४० विधामा यो अवार्ड प्रदान गरिने आयोजक दिक्पालले बताए । उनका अनुसार ८० विधाकै उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ ।

यसपटक बालबालिका, किशोर, किशोरी, युवा युवती र अग्रज क्याटागोरीमा मोडलहरुको प्रतिस्पर्धा रहेको अर्का आयोजक राजन बुढाथोकीले बताएका छन् । उनका अनुसार बेस्ट मोडल, पपुलर मोडल, पेजेन्ट मोडल, मोफसलका मोडल, विज्ञापन मोडल, म्युजिक भिडियो मोडल, नव मोडल जस्ता विभिन्न विधामा प्रतिस्पर्धा रहेको छ ।

यस्तै फेशन तर्फ ४० विधामा यसपटक प्रतिस्पर्धा हुँदैछ । जस अन्तर्गत फेशन कोरियोग्राफर, पेजेन्ट कोरियोग्राफर, मोफसल कोरियोग्राफर, इभेन्ट आयोजक, पेजेन्ट आयोजक, मेकअप आर्टिस्ट, हेयर स्टाईलिस्ट, फेशन डिजाईनर, सेलिब्रेटी फेशन डिजाईनर जस्ता विविध विधामा मनोनयन सार्वजनिक गरिएको छ ।