नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारत र चीनको बधाई


ब्युटी न्युज नेपाल
काठमाडौँ, १० पुस

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री दाहाललाई यहाँस्थित चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई दिइएको हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल आज मात्रै प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सोमबार पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम तय भएको छ ।

नवनियुक्त प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार यहाँस्थित चीनका कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाई दिनुभएको हो ।

दुवै राजदूतले माओवादीका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको बधाई दिँदै उहाँको कार्यकालमा दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने बताउनुभएको थियो । चिनियाँ दूतावासका प्रवक्ताले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत ‘नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष दाहाललाई बधाई’ भनिएको छ ।

भारतीय राजदूत श्रीवास्तवले पनि प्रधानमन्त्री दाहालको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउँदै उचाइमा पुर्याउने बताउनुभएको छ ।

(रासस)