भारतको चर्चित पुरुष पहिरन ब्लाकबेरी ब्रान्ड अब नेपालमा


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ मंसिर

पुरुषहरुका लागि भारतको चर्चित ब्रान्ड ‘ब्लाकबेरी’ अब नेपालमा पनि पाईने भएको छ । ब्लाकबेरीको लागि नेपालमा काठमाडौंमा बिहिबार दुई वटा नयाँ स्टोर खुल्ने भएको छ ।

ब्लाकबेरीको भारतीय कम्पनी लाभिदा ट्रेडिङ प्रालि र ब्लाकबेरी नेपालले मँगलबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै बिहिबारबाट नेपालमा ब्लाकबेरी ब्रान्डको पहिरनको औपचारिक बिक्री सुरु गरिने जानकारी गरायो ।

ब्लाकबेरी ब्रान्डका कपडा बिक्रीको लागि काठमाडौंको सिभिल मल र दरबार मार्गमा नयाँ आउटलेट (शोरुम) बिहिबारबाट सञ्चालनमा आउने ब्लाकबेरी नेपालका अध्यक्ष उत्तम लामिछानेले पत्रकार भेटघाटका क्रममा बताए ।

‘भारतमा निकै लोकप्रिय रहेको यो ब्यान्डलाई हामीले नेपाल भित्राएका छौं र बिहिबारबाट यसको औपचारिक बिक्री बितरण सुरु गर्दैछौ । काठमाडौंपछि पोखरा, नारायणघाट लगायत अन्य शहरमा पनि ब्लाकबेरी इन्डियाको शोरुमहरु खुल्नेछ ।’ लामिछानेले पत्रकार भेटघाटका क्रममा भने ।

भारतको ब्लाकबेरीले व्यबसायिक सफलता हाँसिल गरेको ३० वर्ष पुगेको अबसरमा नेपालमा यसको शोरुम खोल्न लागेको लाभिदा ट्रेडिङबाट नेपालमा आएको सो कम्पनीको पदाधिकारीहरुले कार्यक्रममा बताए । उनीहरुको अनुसार ब्लाकबेरी ब्रान्डको सुट, ब्लेजर, टाउजर, सर्ट, ज्याकेट, टिसर्ट तथा भित्री पहिरनहरु बिक्री वितरण गरिने छ ।

३० वर्षअघि दिल्लीको चाँदनी चोकबाट सुरु भएको लाभिदाको ब्लाकबेरीको अहिले भारतका विभिन्न शहरमा फैलिएको र सबैजसो ठुला शहरमा यसको शोरुम रहेको पनि पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईयो ।