ब्युटी न्युज नेपाल
काठमाडौं, २५ मंसिर

नेपालको तर्फवाट यस वर्षको मिसेस वल्र्डमा प्रतिनिधित्व गर्दै वाई वाई मिसेस नेपाल वल्र्डकी विजेता दिक्षा के. सी. अमेरिका प्रस्थान गरेकी छिन् । डिसेम्बर १७ मा अमेरिकाको लस भेगास स्थित वेस्ट गेट रिसोर्टमा सम्पन्न हुने मिसेस वर्ल्डको फिनालेमा उनले प्रतिस्पर्धा गर्दैछिन् । सन् १९८४ मा स्थापित मिसेस वल्र्ड विवाहित महिलाहरूको पहिलो सौन्दर्य प्रतियोगिता हुनुको साथै उक्त विधाको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगितामा पर्नेगर्दछ । प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रीका, अस्ट्रेलिया लगायतका महादेशवाट ६० भन्दाबढी राष्ट्रहरूका सहभागी हुँदैछन ।

दिक्षाले यस अघि नेपालमा सम्पन्न रिबन इन्टरटेनमेन्टद्वारा आयोजित वाई वाई मिसेस नेपाल वल्र्डमा सहभागी भएर उक्त प्रतियोगिताको विजेताको रुपमा चयन भएकी हुन् । अन्तराष्ट्रिय कोरियोग्राफर अश्विनी कान्त झाको कोरियोग्राफीमा सम्पन्न मिसेस नेपाल वल्र्डको इभेन्ट डिरेक्टरमा निशुकान्त झा थिए ।  सो प्रतियोगिताको विजेताको रुपमा उनले मिसेस वल्र्डमा सहभागिता जनाएकी हुन् ।

मानसिक स्वास्थ्यको क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहनुभएकी दिक्षा मिसेस वल्र्डमा यसै सम्बन्धित आफ्नो प्रोजेक्ट प्रस्तुत गर्दैछिन् । उनले सुपी रसाइली एवम् मनिष राईद्वारा तयार पारिएको राष्ट्रिय पोसाकदेखि अन्य आकर्षक पहिरनमा आफूलाई प्रतियोगितामा उतार्दै छिन् ।

स्टेला द मेक अप स्टुडियोको श्रृङ्गारमा प्रस्तुत हुन लाग्नुभएकी दिक्षालाई हाल अमेरिकामै वसोवास गर्दै आइरहनुभएकी नेपालकी चर्चित मेकअप आर्टिष्ट सोफी सुनवारले प्रतियोगितामा मेकअप गर्ने छिन् । उनले संसारमाझ गौतम बुद्धको देश नेपाल भनेर चिनाउनका लागि श्रीगणेश सुनचांदी पसलवाट उपहार स्वरुप प्राप्त भएको आकर्षक बुद्धको स्तुपालाई उपहार स्वरुप आयोजकलाई प्रदान गर्दैछिन् ।