संगीत नाट्यको काठमाडौंमा मुकुन्डो नृत्य


ब्युटी न्युज नेपाल
काठमाडौं २३ मंसिर

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा ‘मुकुण्डो नृत्य प्रस्तुति–२०७९’ आयोजना गरेको छ । प्रतिष्ठानको नृत्य विभागको पहलमा यो प्रतियोगिता भएको हो ।

कार्यक्रमा मुकुन्डो नृत्य सम्बन्धी दुई वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । पुरुषोत्तमलोचन श्रेष्ठले ‘नेपाल मण्डलका परम्परित मुकुण्डो नाच ः विगत र वर्तमान’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए भने वरिष्ठ संस्कृतिकर्मी गणेशराम लाछीले ‘नेपालको अमूर्त सम्पदा मुकुण्डो नृत्य आजको अवस्था’ शीर्षकमा तयार पार्न भएको आलेख वाचन गरेका थिए ।

प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायन, प्रथम नेपाली नृत्य निर्देशक भैरवबहादुर थापाको आतिथ्यमा सम्पनन सो कार्यक्रममा काठमाडौं उपत्यकामा प्रचलित चार प्रकारका मुकुन्डो नृत्य प्रस्तुत गरिएको थियो । काठमाडौं हाँडीगाऊँबाट नरनेवा मंका खलः ले लाखे नृत्य प्रस्तुत गरेको थियो । जसमा २१ जना कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

त्यसैगरी भक्तपुरबाट मुक्ति सङ्गीत प्रशिक्षण केन्द्रले महाकाली नृत्य प्रस्तुत गरेको थियो जसमा २२ जना कलाकारहरुले परम्परागत भेषभूषा सहितको महाकाली नृत्य प्रस्तुत गरे । भक्तपुरबाट विनायक स्कुलले नृत्य कलाकार तथा वाद्यवादक सहित १७ जना कलाकारहरु सम्मिलित अष्टमातृका नृत्य प्रस्तुत गरे । काठमाडौंको पिस कल्चर ग्रुपका २ जना कलाकारले भैरव काली नृत्य प्रस्तुत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानका कार्यवहाक कुलपति जगमान गुरुङले मुकुण्डो माटो वा धातुबाट मात्र नभई बाँसबाट बन्ने नाङ्लोमा आकृति बनाएर पनि निर्माण गर्ने गरिएको इतिहास रहेको बताए । लाखे राक्षस भएको तान्त्रिकहरुले वसमा पारेर नचाइने भएकाले तान्त्रिक नृत्य पनि भएको बताए ।

प्रमुख अतिथि वरिष्ठ नृत्य निर्देशक भैरव बहादुर थापाले भाषाको उत्पत्ति जत्तिकै लामो रहेको बताए । सभाध्यक्ष कुलपति नारायणभक्त श्रेष्ठले नेपाली मौलिक कलाहरुको संरक्षण र प्रवद्र्धनमा प्रज्ञा प्रतिष्ठान लागि परेको बताए ।

कार्यपत्र प्रस्तोता तथा कलाकारहरुलाई सभाध्यक्ष तथा प्रमुख अतिथिले कदर पत्र तथा प्रमाणपत्र प्रदान गरिएको थियो । नृत्य विभाग प्रमुख नमुना शर्माले संयोजन गरेको कार्यक्रमा उनले नै सहजीकरण गरेका थिए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारी, वरिष्ठ नृत्यकर्मी, नाट्यकर्मी, सङ्गीतकर्मीहरुको उपस्थिति रहेको थियो ।