नेपाल भारत संगीत साधनामा नेपाल र भारतका कलाकाको प्रस्तुति


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ मँसिर

शुक्रबार नाचघरमा विभिन्न शास्त्रीय नृत्य हेर्न पाईयो । भारतीय राजदूतावास र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा ‘नेपाल भारत संगीत साधना’को दोस्रो संस्करणमा विविध नृत्यसँगै गीत संगीतबाट दर्शकले मनोरञ्जन लिए ।

मासिक धारावाहिक रुपमा हुँदै आएको यो कार्यक्रममा नेपाल र भारतका कलाकारले भरतनाट्यम एवं कत्थक नृत्य प्रस्तुत गरे । भारत स्वतन्त्रताको अमृत वर्ष एवं सांस्कृतिक संस्थान स्थापनाको स्वर्ण महोत्सवको अवसरमा यो सृँखला सुरु भएको हो ।

कार्यक्रममा स्वामी विवेकानन्द कल्चरल सेन्टर (भारतीय राजदूतावास)का कलाकारले सुरुमा गणेश बन्दना (भरतनाट्यम) नृत्य प्रस्तुत गरे । त्यसपछि कार्यक्रममा सांस्कृतिक संस्थानका कलाकारले पञ्चतारा, कृष्णलीला, तरनाजस्ता शास्त्रीय नृत्य प्रस्तुत गरी उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाए । सो अवसरमा भारतकी चर्चित नृत्यांगाना डा. गोथामीले भरतनाट्यम प्रस्तुत गरी उपस्थित दर्शकलाई आकर्षित गरिन् । नेपाल र भारतका कलाकारबीच भरतनाट्यम र कत्थकमा प्रस्तुत गरिएको जुगलबन्दी झनै रोमाञ्चक थियो ।

सो अवसरमा स्वामी विवेकानन्द कल्चरल सेन्टर (भारतीय राजदूतावास) काठमाडौंकी निर्देशक डा. आसावरी उदयवापतले सांस्कृतिक संस्थानसँगको सहकार्यमा सुरु भएको मासिक धारावाहिक कार्यक्रम महत्वपूर्ण भएको बताइन् । ‘यस कार्यक्रमले दुई देशबीचको सांस्कृतिक एवं मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पु¥याउने विश्वास लिएको छु’, डा. वापतले भनिन् ।

कार्यक्रममा उपस्थित पाहुनालाई स्वागत गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले नेपाल र भारतको मौलिक कला तथा संस्कृति एकआपसमा साटासाट गर्न, दुवै देशको लोकसंस्कृति जनस्तरमा स्थापित गर्न भारतीय राजदूतावास काठमाडौं र सांस्कृतिक संस्थानले मासिक धारावाहिक कार्यक्रम सुरु गरेको बताए । ‘कार्यक्रममा गीत, संगीत, वाद्यवादन, नृत्य, योग, चलचित्रलगायत प्रस्तुतिजन्य कलाका सबै विधाहरू प्रस्तुत गरिनेछ’, महाप्रबन्धक राईले भने ।