ब्युटी न्युज नेपाल
काठमाडौं, ९ मँसिर

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास )अमेरिकाले विभिन्न श्रष्टा तथा कलाकारलाई सम्मान गर्ने भएको छ । प्रवासमा रहेर पनि कला ,संगीत,साहित्य ,समाजसेवा ,खेलकुद र पत्रकारिता मार्फत योगदान पुर्याउनु हुने ब्यक्तित्वहरुलाई २६ नोभेम्बरका दिन मेरिल्याण्डमा ‘सम्मान तथा विविध साँस्कृति कार्यक्रम’मा सम्मान गर्न लागेको संघका अध्यक्ष कन्हैया सिंह परियारले बताएका छन् ।

अध्यक्ष परियारका अनुसार साहित्यकार होमनाथ सुबेदी, गायिका सपना श्री , चलचित्र निर्मात्री तथा नायिका अनसुया श्रेष्ठ वन्त, बाल मोडल तथा कलाकार सम्राट दाहाल सम्मानित हुँदैछन् । त्यस्तै समाजसेवि डा. श्याम कार्की ,डा. बिष्णुमाया परियार , खेलाडी बिना खड्का लामा तथा ईनेप्लिजका पत्रकारद्वय विश्वराज थापा र बिजय थापालाई पनि सम्मान गरिने भएको छ ।

सम्मानित हुनेहरु मध्ये साहित्यकार होमनाथ सुबेदी ४० भन्दा बढी विभूषण तथा सम्मानबाट बिभुषित हुनु हुन्छ भने संसार भरि शाखा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संस्थापक पनि हुनु हुन्छ । त्यस्तै डा श्याम कार्की समाजको पथ प्रदर्शक, अभियन्ता, चिकित्सा बिज्ञान अन्तर्गत प्राध्यापक प्रोफेसर नेपाल तथा अमेरिकाका बिभिन्न विश्व विद्यालयहरुमा प्राध्यापन गरि अमेरिकामा बिशेष छबि बनाउनु भएको छ ।

सम्मानित बिना खड्का लामा ,दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक जिताउने नेपालको उशु खेलको राष्ट्रिय खेलाडी तथा राष्ट्रिय प्रशिक्षक पनि हुनुहुन्छ।

त्यस्तै सयौं चर्चित गीतहरुमा सुरिलो स्वर दिनु भएकी सपना श्री नेपाली सुगम संगीत र पार्स्व गायनमा कहलिएको नाम हो जस्ले प्रवासमा रहेर अनबरत नेपाली संगितलाई माथि उठाउन लागि परिरहनु भएको छ ।

चलचित्र निर्मात्री तथा नायिका अनसुया श्रेष्ठ वन्तलाई पनि बिशेष सम्मान गरिने छ ।अनसुया बाल्टिमोरको नेपालीहरुको सँस्था बानाको निबर्तमान अध्यक्ष तथा चर्चित चलचित्र लक्का जवानको निर्मात्री हुनुहुन्छ । बिदेशी भूमिमा रहेर पनि नेपाली चलचित्रको क्षेत्रलाई माथि उठाउन अनसुयाले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ ।

यस्तै बाल कलाकार तथा मोडल सम्राट थापा विभिन्न बाल गीतका मोडल हुनुहुन्छ । नेपाल म्युजिक एन्ड फेसन अवार्ड सहित विभिन्न अवार्ड र सम्मानबाट सम्मानित उहाँले एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा कुशल मोडलिङ गरिसक्नु भएको छ ।

समतामुलक समाजको निर्माण गर्नका लागि प्रयासरत नेत्री डा बिष्णुमाया परियार आँफैमा एउटा पाठशाला हुनुहुन्छ ।नेपालका दुर्गम बस्तिहरुमा पुगेर शिक्षाको दियालो बाल्ने डा बिष्णुमाया बिपन्नहरुको बैशाखी हुनुहुन्छ । इनास सम्मानबाट सम्मानित बिष्णुमाया नेपाली अमेरिकी समुदायको परिचित नाम हो ।

यसरी नै समुदायका हरेक गतिविधि, अमेरिकी मूलधार र विश्व समाचारलाई समेट्दै समुदायलाई सु–सूचित गर्दै अहोरात्र खटने र समुदायमा योगदान पुर्याउने ईनेप्लिजका दाजुभाई पत्रकारद्वय विश्वराज थापा र बिजय थापा नौलो नाम होइन । जस्तो सुकै विषम परिस्थितीलाई पनि सहजतापूर्बक लिदै समाजका हरेक गतिबिधिमा उपस्थित हुने र प्रचार प्रसारमा खटिने इनेप्लिजका प्रधान सम्पादक विश्व राज थापा र सम्पादक बिजय थापालाई यो सम्मान गरिने छ ।

अग्रजलाई सम्मान,बालबालिकालाई प्रोत्साहन भन्ने मूल नाराका साथ कलाकारहरुको अन्तरराष्ट्रिय सन्जाल इनासले मेरिल्याण्डमा मा ”इनास राष्ट्रिय सम्मान तथा सांस्कृतिक कार्यक्रम” मार्फत सम्मान गर्नेछ ।

यसै गरि प्रोत्साहन स्वरुप नया पुस्ताका द भ्वाइसकी प्रतियोगी इनास मेरिल्याण्डकी युवा सदस्य परिजिता बास्तोला ,भ्वाइस अफ नेपालको प्रतिस्प्रद्धामा सहभागी भएका इनास केन्टकीका सदस्य प्रनिम राईलाई पनि प्रोत्साहन पुरस्कार वितरण गरिने छ ।